काठमाडौं, २० भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ ।
कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो ।कार्गोमार्फत त्यसबारे सूचना प्राप्त भएपछि आफूहरुले अनुसन्धान थालेको ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘कति परिणाम हो भन्ने यकिन भइसकेको छैन, तर चरेश गएको भन्ने सूचना पाएपछि छानबिन सुरु भएको छ ।’विमानस्थलमा लागूऔषध नियन्त्रण ब्यरोको टोली समेत जाँचमा खटिन्छ । तर, जाँच पार गरेर चरेश बाहिरिएपछि छानबिनका लागि ब्यूरोले प्रहरी नायब उपरीक्षक (डीएसपी) अनन्तराम शर्माको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ ।प्रहरीबाट तर्फबाट भएको हुनसक्ने कमजोरीबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको छ । यद्यपि, समितिले गाँजा पठाउने व्यक्तिबारे समेत अनुसन्धान गर्ने स्रोतले बताएको छ ।
प्रहरीका अनुसार, गाँजासहितको किताबको पार्सल विराट कार्गोले पठाएको थियो । २६ साउनमा गाँजासहितको पार्सल विमानस्थलबाट बाहिरिएको प्रहरीले जनाएको छ । ब्यूरोका एसपी चक्रराज जोशीले छानबिनबाट यममा के भएको हो भन्ने देखिने बताउनुभयो । ‘यसमा कसैको नियत हो या लापरबाही वा अरु केही भन्ने पनि छानबिनबाट नै खुल्छ’, उनले भने । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको ६० किलो सुनबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्