काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानसभा अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बनेको बताउनुभएको छ ।
आज मङ्गलवार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले संविधानसभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताका कारण नै संविधानसभाबाट संविधान बन्न सकेको बताउनुभएको हो । उहाँले नेम्वाङले त्यस बेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बन्यो । त्यो बेलाको बाह्य दबाबलाई थेग्न सक्ने, चाहिएको बेलामा दृढतापूर्वक उभिनसक्ने त्यो स्वभाव पनि सुवास नेम्वाङसँग रहेछ जुन त्यतिखेर उहाँले प्रकट गर्नुभयो । समन्वयकारी क्षमता भएको तर चाहिएको बेलामा दृढ हुन नसक्ने भएको भए सायद त्यतिखेर संविधानसभाले संविधान बनाउन सक्दैन थियो होला ?’
महामन्त्री थापाले नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उल्लेख गर्नुभयो । २०६२/०६३ सालको आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर काम गरेको र उहाँ साझा व्यक्तिको रूपमा स्थापित भएको बताउनुभयो । नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको थापाको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्