काठमाडौं, असोज १२ । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तासहित २ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।
विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको इजलासले गुप्ता र इञ्जिनियर रामचन्द्र साहलाई भ्रष्टाचारी ठहर गरेको हो ।
मेयर गुप्ता र इञ्जिनियर साहमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो । दुवैजनाबाट एक लाख ४० हजार रुपैयाँ विगो र त्यति नै जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दुवैलाई ६÷६ महिना कैद गर्ने फैसला भएको छ ।
साहलाई अख्तियारको टोलीले गत फागुनमा रंगेहात पक्राउ गरेको थियो । साह पक्राउ परेपछि मेयर गुप्ताले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा चलाएको हो ।
मेयर गुप्ता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका प्रिय पात्र हुन । गत २०७९ को स्थानीय तह निर्वाचनमा गुप्ता नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनी निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्