काठमाडौं, असोज १६ । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको एकएक बदमासीको भण्डाफोर गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बिशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सुन तस्करीदेखि अपराधीलाई छानिछानि छाडिएको घटना र न्यायालयलाई भर्तीकेन्द्र बनाएको तथ्य जनतामाझ राख्नुभएको हो ।
न्यायालयलाई गठबन्धनको विभाग बनाउन दिइन्न
संसदमा सम्बोधनको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले अदालतको मर्यादामाथि निरन्तर प्रहार गरिरहेको भन्दै एकएक तथ्य खोल्नुभयो । अध्यक्ष ओलीले सरकारले स्वतन्त्र र निष्पक्ष न्यायालयमाथि प्रहार गरेर संविधानको ठाडै उल्लंघन गरेको बताउनुभयो । परीक्षामा फेल भएकाहरुलाई न्यायाधीश नियुक्त गर्ने काम गरेर सरकारले संविधानमाथिको प्रहार र अनुचित हस्तक्षेप गरेको ओलीको निश्कर्ष थियो ।
अध्यक्ष ओलीले सरकारले न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोजेको भन्दै कडा आपत्ति जनाउनु भयो । ‘न्यायालयलाई गठबन्धनको विभाग बनाउने सपना नदेख्दा राम्रो हुन्छ, तपाइँहरुले न्यायालयलाई स्वतन्त्र न्यायालय बनाउन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको ? सम्भव छैन, हामी पनि छौं यो देशमा, हामी न्यायालयलाई स्वतन्त्र, सम्मानित मर्यादित न्यायालयको रुपमा राख्न चाहान्छौं, तपाइँहरुको विभाग बनाउन दिँदैनौं, यस विषयमा जिम्मेवार हुन आग्रह गर्छाैं, हुन त प्रधानमन्त्रीले के भन्नुहुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ठिकै भएको होला भन्ने लाग्या हो मलाई त थाहा छैन भन्नुहोला, यस्ता कुराको जिम्मा किन लिने ?,’ ओलीको चेतावनी थियो ।
सरकारमा हुँदा बचेपनि यस विषयमा सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनले न्यायाधीश नियुक्ति र सरुवाबारे जवाफ दिनैपर्ने बताउनुभयो । न्यायाधीश नियुक्ति र सरुवाको घटना समुद्रमा देखिने आइसबरको टुप्पो मात्रै रहेको भन्दै ओलीले आइसबरको भित्रि र भिमकाय आकार सहजै अनुमान गर्न सकिने बताउनुभयो । ’यो आइसबर संवैधानिक दुर्घटनाको कारक हुन सक्छ, सावधान हुनु सरकार,’ ओलीले भन्नुभयो ।
गठबन्धनले जन्माएका २ सरकारले न्यायालयमाथि गम्भीर प्रहार गरेको तथ्य पनि उहाँले राख्नुभयो । गत चुनावमा ज्यानसँग मत साटिएको भन्दै ओलीले धाँधली गरेर चुनाव गराउने मानिसलाई न्यायाधीश बनाइएको बताउनु भयो । गत चुनावमा स्याङ्जामा बुथ कब्जामा सघाउने अधिकृतलाई न्यायाधीश बनाइएको भन्दै उहाँले पितृको नाममा अरबमा भएका मानिसको नाममा चुनाव गराउन सहयोग गर्ने मान्छे न्यायाधीश भएपछि त्यस्ताबाट कस्तो न्यायको अपेक्षा गर्ने भन्ने प्रश्न गर्नुभयो ।
लुटिएको मत न्यायालय र संसद्को घाउ बनिरहेको तथा क्यान्सर बन्ने खतरा रहेको भन्दै ओलीले भन्नुभयो, ‘कस्तो न्यायालय बनाउन खोजिरहनुभएको छ ? १९ औं नम्बरका खुल्ला प्रतियोगितामा फेल भएका मान्छे नियुक्तिमा मन्त्रीको कृपामा एक नम्बरमा परेका, त्यस्तो धाँधली हुँदा केही भएको छैन भनेर लेखेर दिन अप्ठेरो नमान्ने, त्यो योग्यता पूरा गर्न हस्ताक्षर गरेका, धाँधलीका सम्पूर्ण गतिविधि मिलाएका, यस्तो विशेष दक्षता भएका व्यक्तिलाई यहाँहरुले न्यायाधीश नियुक्त गर्नुभयो ।’
अध्यक्ष ओलीले आफूविरुद्धको मुद्दामा उफ्रिउफ्रि सक्रिय भूमिका खेल्न फर्मका सहयोगी वकिललाई सरकारले न्यायाधीश बनाएको तथ्य पनि खोल्नुभयो । ’कति याद राखेको आफ्नो सेवा गरेकाको ? ठ्याक्क टिपेर, फेल भएका न्यायाधीश, यसैगरी हुन्छ डेमोक्रेसी ? यसैगरी बन्छ बलियो अदालत ? यसैगरी हुन्छ निष्पक्ष न्यायालय ?’ ओलीको प्रश्न थियो । निष्पक्ष फैसला गर्ने र गठबन्धनलाई सहयोग नगर्ने न्यायाधीशलाई सरकारले विकटमा सरुवा गरिरहेको भन्दै उहाँल्े राज्यका संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिनुभयो ।
सत्तारुढ दल नरमाउँदा नै राम्रो
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी एमाले र केपी ओलीमाथिको प्रहार हो भनेर नरमाउन सरकारलाई सचेत गराउँदै न्यायाधीश नियुक्ति र सरुवा बढुवाको विषयलाई साधारण र नियमित सरुवाका रुपमा लिन नसकिने बताउनुभयो । ’सरकार–गठबन्धन खुशी होला यो त एमालेमथिको प्रहार हो, केपी ओलीमाथिको प्रहार हो भनेर रमाइराखेको होला, म गम्भीरतापूर्वक सदनमा रेकर्ड गराउन चाहान्छु – यो घटनालाई साधारण नियुक्ति र सरुवाको विषयमा लिन सकिँदैन, यो साधारण नियुक्ति र सरुवाको कुरा होइन, न्यायप्रणालीसँग, अदालतको स्वच्छता, मर्यादासँग, अदालतमाथिको जनविश्वाससँग जोडिएको विषय छ, तपाइँहरु अदालतको मर्यादामाथि प्रहार गरिरहनुभएको छ, अदालतमाथिको जनविश्वास कमजोर पार्ने खेल खेलिरहनुभएको छ र त्यो दृष्टता गरिरहनुभएको छ, न्यायालयलाई स्वतन्त्र भूमिका खेल्ने त्यो हैसियत र सामार्थ्यबाट कमजोर पार्ने दुस्प्रयास गरिरहनुभएको छ,’ ओलीको भनाई थियो ।
सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार र स्वेच्छाचारी
एमाले अध्यक्ष ओलीले गठबन्धन सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार र स्वेच्छाचारी बनेको बताउनु भयो । उहाँले सरकार विकास विरोधी भएको तथ्इले नै प्रमाणित गरेको बताउनु भयो । ‘विकासका कामलाई ठप्प पारेका छन, चलिरहेका आयोजनाहरू रोकिएका छन, काम गरिसकेका आयोजनाहरूलाई भुक्तानी दिइएको छैन, भुक्तानी नदिएपछि भयावह स्थितिको सिर्जना भएको छ’, ओलीले भन्नुभयो । सरकारले रकम भुक्तानी नदिँदा व्यवसायीहरू ऋण तिर्न नसकेर बैँकको कालो सूचीमा परेको र सरकारको कारण देशको आर्थिक अवस्था कमजोर भएको तथ्य उहाँले राख्नुभयो ।
सुशासनको नारा भ्रष्टाचारको लाइसेन्स
ओलीले सरकारले भन्न्े गरेको सुशासनको नारा भ्रष्टाचार र तस्करीका लागि लाइसेन्समा प्रमाणित भएको बताउनु भयो । सुशासनको अभियान चलाउँदा त्यसलाई रोक्न विरोध लागेको भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भाषण गर्दै हिँडेको प्रति पनि ओलीले प्रश्न गर्नुभयो । कुन विरोधी सुशासनको अभियान रोक्न लाग्यो ? भन्दै उहाँले प्रश्न राख्नुभयो । पक्राउ परेको सुन ढाकछोप गर्न गृह मन्त्री आफैँ लागेको ओलीले बताउनुभयो । छानबिन गर्ने आयोग बनाउन समेत एक महिना लडाइँ गर्नुपरेको उहाँले स्मरण गराउनुभयो । ओलीले विमानस्थलबाट निकालेर बाटोमा सुन पक्राउ गरिएको भए पनि सुन लिएर जाने मानिसलाई हाजिर हुने गरी छाड्नको कारण उहाँले माग गर्नुभयो । ‘सुशासनको अभियान भनेको यही हो ? राजनीतिको अपराधीकरण’, उहाँले भन्नुभयो ।
बिच दिउँसो सडकमा लखेटी लखेटी मान्छे काट्ने अपराधीलाई छाड्ने काम सरकारले गरेको ओलीले बताउनुभयो । सरकारको आलोचना गर्यो भने सांसदहरूलाई नै पक्राउ गर्ने र पक्राउपूर्जी जारी गर्ने काम गरिएको भन्दै ओलीले आक्रोश व्यक्त गर्नुभयो । ‘सांसदहरूको पनि सातो लिने, कोही बोल्यो कि खबरदार, सुनिल शर्मा बनाइदिन्छौँ, अर्को बनाइदिन्छौँ, सांसदहरूको सातो लिन खोजको होइन ? तर्साउन, थर्काउन खोजको होइन ? अनि सुशासनको कुरा गर्ने’, उहाँले भन्नुभयो । लैनचौरको स्काउटको जग्गा सरकारको संरक्षणमा एउटा व्यक्तिले कब्जा गरेका प्रति पनि उहाँले प्रश्न गर्नुभयो । बाहुबलको आधारमा सरकारी जग्गा कब्जा गर्न पाइन्छ कि, पाइँदैन ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
सरकार सरकारमा रहेका नेताहरू आफ्नो स्वार्थ पूरा गर्नका लागि जस्तोसुकै काम गर्न पनि तयार रहेको ओलीले बताउनुभयो । सरकार स्वयम् संविधान असफल गराउने प्रयत्नमा लागेको ओलीको भनाइ छ । ‘सरकार गठबन्धन बाहेक अन्य दलको अस्थित्व स्विकार्दैन, प्रतिपक्षी दलको नेता माथि सांघातिक आक्रमण गर्ने प्रयास गर्छ’, उहाँले भन्नुभयो ।
आफू माथि आक्रमण गर्ने हमलाकारीलाई केही पनि नगर्नु भन्ने आदेश दिएर सरकारले छुटाएको ओलीले बताउनुभयो । हिंसालाई प्रोत्साहित गर्ने काम सरकारले एक ठाउँमा होइन अनेक ठाउँमा गरेको आलीले उदाहरण दिनुभयो । सुशासन सरकारको अभियान नभएर सरकारको काम अनि कर्तव्य भएको समेत अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले गृहमन्त्री आफैंले तस्करहरुको संरक्षण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो – ’हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो, सुशासनको अभियान चलाएको त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर, कुन विरोधी लागे तपाइँको अभियान रोक्न ? साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाइँ ढाकछोप गर्न लाग्नुहुन्छ, १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ, छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ, छानबिन गर्दा के बिग्रिन्थ्यो महासय तपाइँको ?’
सुन काण्डले अहिले सरकारलाई नै हैरान पारिरहेको अध्यक्ष ओलीले बताउनुभयो । सुन तस्करी काण्डको अनुसन्धानका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएपनि सरकारलेआफ्नो मान्छे राख्नका लागि आयोगमा ४ जना राखेको उहाँले बताउनुभयो ।
गठबन्धनका नेता जोगाउन रुमालले होइन गम्छाले पसिना पुछ्दै ललिता निवासको फाइल बन्द गरिएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो – ’निकै चर्कोसँग ललिता निवासको फाइल खोलिन्छ भन्नुहुन्थ्यो, त्यो फाइल बन्द गराउन क्या गाह्रो प¥यो है, कस्तो गाह्रो प¥यो बन्द गर्न, मुद्दा बुझाउन नसक्ने, कसरी उम्काउने ? कसरी ढाकछोप गर्ने ? सत्ता गठबन्धन परेपछि कसरी जोगाउने भनेर पसिना आयो त्यतिबेला, रुमालले नपुगेर गम्छा लिएर पुछ्नुपरेको थियो पसिना ।’

‘जनयुद्ध दिवस’ का नाममा दिइएको सार्वजनिक बिदा फिर्ता नलिए प्रतिवाद
एमाले अध्यक्ष ओली ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन सरकारलाई अल्टिमेटम दिनुभयो । आगामी मन्त्रिपरिषद्को बैठकबाटै बिदा फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने उहाँको भनाई थियो । अध्यक्ष ओलीले आफूहरुको विरोधका बाबजुद सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेको बताउनुभयो । २०७९ सालको माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
गठबन्धन संविधान र लोकतन्त्रका लागि मन्द बिष
अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार संविधान र लोकतन्त्रका लागि मन्द विष भएको उल्लेख गर्दै गठबन्धन सरकार जति समय टिक्छ त्यति समय देश बर्बाद भइरहने बताउनुभयो । ’यो जनता र संविधान छलेर बनेको गठबन्धन हाम्रो संविधान र लोकतन्त्रका लागि स्लो पोइजन हो, एकैचोटी पुक्लुक्कै पारीहाल्न पनि सक्दैन, यसले लोकतन्त्र र संविधान कार्यान्वयनका लागि स्लो पोइजनको काम गरीराखेको छ,’ उहाँले भन्नुभयो । सरकारले संसद् र संसदीय समितिलाई बिजनेज नदिएको र प्रधानमन्त्रीले नै १७ दिन संसद्लाई बन्दक बनाएको अध्यक्ष ओलीले बताउनुभयो । अहिलेको सरकारलाई गठबन्धन टिकाउन मात्रै ध्यान केन्द्रित रहेको बताउनुभयो । ’१७ दिन किन बन्द गर्नुभयो ? यहाँ संसद् चल्दा के बिग्रिन्थ्यो ?’ उहाँको प्रश्न छ ।
प्रोफेसरको ढाड भाँच्ने, डाक्टर कुट्दिन भन्ने र अर्काे दिन नै डाक्टर कुट्ने काम सरकारले गरिरहेको बताउनुभयो । सरकारले विद्यालय शिक्षा विधेयक सच्चाएर ल्याउनुपर्ने बताउनुभयो । शिक्षकसँग भएको सहमति र सम्झौता कार्यान्वयन गर्न र शिक्षा विधेयकमा ती सहमति राखेर मात्र ल्याउन समेत अध्यक्ष ओलीले बताउनुभयो । शिक्षकहरुमाथि कुनै छलछाम नगर्न उहाँले सरकारलाई चेतावनी दिनुभयो ।
खुँडा हानेर मान्छे मार्ने र एसिड आक्रमणकारीलाई छाड्नु पनि सुशासन हो ?
एमाले अध्यक्ष ओलीले सरकारले नै हिंसालाई प्रश्रय दिइरहेको बताउनुभयो । अपराधीलाई छाडेर सुशासनको कुरा गर्न सरकारलाई पटक्कै नसुहाउने उहाँको भनाई छ । अपराधी र सुन तस्करलाई संरक्षण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका कुरा नगरेको राम्रो हुने समेत उहाँले बताउनुभयो ।
नेपालगञ्जमा दिनदहाडै खुँडा प्रहार गरी मान्छे मार्ने (रिगल डन) र किशोरीमाथि एसिड छ्याप्नेलाई सरकारले छाडेको भन्दै अध्यक्ष ओलीले कडा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ’अदालतले जन्मकैद तोकेको मान्छेलाई ४ वर्ष जेलमा राखेर छोडिएको छ, नेपालगञ्ज आतंकित छ, पीडित परिवार आतंकित छन्, यस्तायस्ता मानिस छानीछानीकन किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ?’ अपराधीलाई सरकारले मनलाग्दी हटाउने हो भने अपराधीका लागि किन कानुन बनाउनुपर्यो भन्ने प्रश्न पनि उहाँले गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्