जनता टाइम्स

२० आश्विन २०८०, शनिबार १५:४९

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा, यस्तो छ अवको बाटो


बिराटनगर, असोज २० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिनुभएको छ । बिश्वासको मत लिने प्रयोजनका लागि आज बसेको प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिनुभएको हो ।

सर्वाेच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त हुनुभएका एमाले स्थायी समिति सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले आज प्रदेशसभाबाट बिश्वासको मत लिन लाग्नुभएको थियो । तर दलहरुबीच सहमति जुटन नसकेको र बिश्वासको मत लिन आवश्यक मत नपुग्ने भएपछि मतदानमा जानुअघि नै राजीनामा दिनुभएको हो ।

कार्की पुनःमुख्यमन्त्री नियुक्त हुनुभएको आज ३० दिन पुगेको छ । संबिधानमा मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट बिश्वासको मत लिनुपर्ने ब्यवस्था छ । सोही अनुसार आज बिश्वासको मत लिन आवश्यक संख्या नपुग्ने भएपछि राजीनामा दिनुभएको हो ।

राजीनामाअघि प्रदेशसभामा बोल्दै मुख्यमन्त्री कार्कीले एमाले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताका लागि सदैव तयार रहेको बताउनु भयो । ‘मुख्यमन्त्रीमा म नै रहनुपर्छ, नेकपा एमाले नै रहनुपर्छ भन्ने मान्यतामा हामी छैनौं, त्यसकारण हामी प्रदेशको स्थायित्व र राजनीतिक स्थायित्वका लागि एमाले तयार छ,’ कार्कीले भन्नुभयो ।

कुनै एउटा दललाई बाहिर राखेर सत्ताको आनन्द लिने खेलमा एमाले नरहेको पनि उहाँले बताउनु भयो । मध्यावधी निर्वाचन रोक्नका लागि आफू राजीनामा दिने निर्णयमा पुगेको पनि कार्कीले प्रष्ट पार्नुभयो । उहाँले संबैधानिक प्रकृया मिचेकोले आफू अदालत जानुपरेको पनि प्रष्ट पार्नुभयो । अदालतको ब्याख्या आवश्यक भएकोले नै आफू अदालतमा गएको कार्कीले बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले राजीनामा दिएसँगै कोशीमा अव संबिधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान हुनेछ । सो धारा अनुसार सरकार गठन गर्दा प्रदेशसभाका जुनसुकै सदस्य मुख्यमन्त्री हुन सक्नेछ भने सर्वाेच्चको परमादेशअनुसार दलीय ह्वीप लाग्ने छैन ।