जनता टाइम्स

२० आश्विन २०८०, शनिबार १७:१६

भुकम्पपछि बझाङ : घर भित्र बस्न सक्ने आँट छैन, खुल्ला आकासमा बस्दा बिग्रिदैं स्वास्थ्य


धनगढी, २० असोज । बझाङमा भूकम्प गएको ५ दिनसम्म पनि नागरिकलाई ढुक्कसँग घर भित्र बस्ने वातावरण बन्न सकेको छैन । भुकम्पले चर्काएका घर र त्यसैमाथि छिन–छिनमा गइरहने पराकम्पनका कारण नागरिकलाई घर भित्र गएर ढुक्कसँग बस्ने आँट अझै नपलाएको हो । खुला आकास मुनि बस्दा नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न थालेको छ ।

‘चिसो बढी सकेको छ,’ बझाङको जयपृथ्बी नगरपालिका–३ का अनिल सिंहले भन्नुभयो, ‘घर चर्केका कारण भित्र बस्न सकिएको छैन, बाहिर बस्दा स्वास्थ्य अवस्था कमजोर बनिरहेको छ ।’ मंगलबारदेखि खुला आकाश मुनि बस्दै आएका नागरिक शनिबारसम्म पनि घर भित्र पस्न नसकेका उहाँले बताउनुभयो । ‘अहिले पनि पटक–पटक पराकम्पन आएजस्तो अनुभुति भइरहन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैपनि डराएका नागरिक भित्र पस्न सक्ने कुरै भएन ।’

उहाँका अनुसार अधिकांश घरहरू भूकम्पले चर्किएको र निरन्तर परकम्पहरू आइरहेका कारण स्थानीयहरू घरभित्र सुत्न डराइरहेका छन । घरभित्र सुत्न त के प्रवेश गर्नसमेत स्थानीयलाई त्रास भइरहेको हो । रातभर चिसो भुइँ र खुला आकाशमा सुत्नु परेका कारण बालबालिका र वृद्धवृद्धाहरू चिसो लागेर बिरामी हुन थालेका छन् । मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि बुधबार ५ बजेसम्म बझाङ सदरमुकाम र आसपासका ठाउँलाई केन्द्र बनाएर २ सय ३४ पराकम्पहरू गएका छन् ।

यसबीचमा एक पटक ६ दशमलव ३ म्याग्निच्युड, चार पटक ५ म्याग्निच्युडभन्दा माथि र सात पटक चार म्याग्निच्युडभन्दा माथिको भूकम्प गएको र अन्य पराकम्पहरू चार म्याग्निच्युडभन्दा कमको रहेको केन्द्रले जनाएको छ । त्यस यता शनिबारसम्म बझाङमा तीन सय भन्दा बढी पराकम्पन गएका छन् । लगातार गइरहेको परकम्पका कारण जोखिम बढेको भन्दै बझाङमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएका छन् ।

मंगलबार आएको भूकम्पसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी जयपृथ्वी नगरपालिका–११ की महिला स्वयंसेविका गुनमती धामीको शव बुधबार फेला परेको थियो । शवको केही टुक्रा पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो । मंगलबार दिउँसो दुई बजेर ४१ मिनेटमा तल्कोट तथा ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रविन्दु बनाएर गएको भुकम्पका कारण बझाङ जिल्लामा ६२ वटा भन्दा बढी घरहरु पुर्ण रुपमा भत्केको जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्कले देखाएको छ ।

तर आंशिक रुपमा चर्केका घरहरुको संख्या भने अझैपनि एकिन भएको छैन । भुकम्पका कारण जिल्लाका अधिकांस घरहरु चर्केका कारण कति क्षेति भयो भन्ने बारेमा एकिन तथ्याङ्क संकलन गर्ननै समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक भरतबहादुर शाहले बताउनुभयो ।

‘भुकम्पका कारण थोरै नचर्केको कुनै पनि घर छैन,’ शाहले भन्नुभयो, ‘कस्लाई क्षति ग्रस्त मान्ने अनि कस्ला नमान्ने भन्ने अन्यौलताका कारण हामिले विवरण लगेका छैनौं, जिल्ला विपद व्यवस्थापन समितिले प्राबिधिक कर्मचारी सहितको छानविन समिति बनाएको छ,’ सो समितिले गध्ययन गरेपछि मात्रै आंसिक चर्केका घरहरुको विवरण आउन सक्दछ ।’ बझाङमा भुकम्पबाट क्षति भएका संरचनाको अध्ययन गर्न जिल्ला विपद् व्यवस्थापन समितिले प्राबिधिक कर्मचारी सहितको टोली बनाएको छ ।

सो टोलीले स्थानीय पालिकाका जनप्रतिनिधिको रोहबरमा घरहरुको अवलोकन गरी कुन घर मर्मत गर्नुपर्ने र कुन घर राम्रो छ ? भन्ने अध्ययन गर्ने भएको छ । भुकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्ण रुपमा क्षति भएका घरहरु मर्मत गर्नका लागि प्रति परिवार ५० हजार रुपैंया दिने घोषणा गरेका थिए । प्रभावित क्षेत्रको सुदूरपशिचम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीले पनि अवलोकन गरेका छन् ।