सिरहा, २३ असोज । सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका एक हजार ४७५ एम्पुल प्रतिबन्धित लागुऔषधसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार–४ बाट लहान नगरपालिका–२० हरिनगराका ३५ वर्षीय रामानन्द दास र लहान–२१ का २१ वर्षीय अर्जुनकुमार रामलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीको कमाण्डमा लागुऔषध नियन्त्रण ब्यूरो गोलबजारसमेतको टोलीले गोलबजार–४ लोकमार्गमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा. ६३ प ९१९६ नम्बरको मोटरसाइकल पछाडि सवार रामानन्द दासको साथबाट उक्त प्रतिबन्धित लागुऔषधसहित तीनथान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले प्रोमेट्साजिन हाइड्रोक्लोरिड २ एमएल चारसय ८७ एम्पुल, डाईजिपाम चार सय ९८ एम्पुल र बुप्रोनोरफिन चार सय ९० एम्वुल सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्