जनता टाइम्स

२६ आश्विन २०८०, शुक्रबार १७:०३

कांग्रेसका सांसदले खोज्न थाले प्रचण्ड सरकारको बिकल्प


काठमाडौं, २६ असोज । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु भएको छ । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले पुष्पकमल दाहाल नेतृत्वको सरकारले निकास दिन नसक्ने भन्दै बिकल्प खोज्नु पर्ने जनाउनुभएको छ ।

उहाँले तत्कालै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने जनाउनुभएको छ । ‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा,’ प्रचण्ड सरकारको ध्यान केन्द्रित भएको उहाँको आरोप छ ।

‘देशको आर्थिक स्थिर अवस्थामा छ, यसलाई गतिशील बनाउनु पर्नेछ, उत्पादनमा जोड दिनु पर्ने हुन्छ, प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ तर यही गति र मतिमा चल्ने हो भने यस (सरकार) ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन, यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निमाण गरौं समयमै ।’ प्रतिनिधिसभा बैठकमा कांग्रेसको नेतृत्वमो सरकार गठन गर्नु पर्ने माग पहिलो पटक उठेको हो ।