जनता टाइम्स

२ मंसिर २०८०, शनिबार १५:०१

मंसिर ७ को प्रदर्शनमा एमालेले सबै शक्ति केन्द्रित गर्ने


काठमाडौं, २ मंसिर । नेकपा एमालेले मंसिर ७ को प्रदर्शनमा सबै शक्ति केन्द्रित गर्ने भएको छ । आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको जन संगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा गरेको हो ।

भेलाको शुरुआत गर्दै संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको भन्दै कतिपयले व्यक्तिको लडाइसँग जोडेकोमा आपत्ति जनाउनुभयो । उहाँले यो पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने बताउनुभयो ।

यहि सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएको संयन्त्रकी उपप्रमुख रचना खड्काले बताउनुभयो । मुलुकमा व्याप्त बेथिती,भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको विरोध प्रदर्शन रहेको उहाँले बताउनुभयो ।

भेला जाजरकोट भुकम्प प्रभावितको लागि स्वंसेवी अभियान, मध्यपहाडी यात्रा र मंसिर ७ को प्रदर्शनका लागि छलफल गर्न आयोजना भएको उहाँको भनाइ थियो ।