काठमाडौं, पुस १३ । रास्वापाका सभापति तथा सांसद रवि लामिछाने सहकारी ठगी प्रकरणमा तानिएका वेला सोही दलका नेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा राखेको स्ट्याटस चर्चामा आएको छ।
रास्वपाको संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको विषयलाई विभिन्न कोणबाट हेरिएको छ। जसले राजनीतिमा तरंग सिर्जना भएको छ।
‘यदि तपाईं कसैको लागि, समाजको लागि अथवा देशको लागि सम्पत्ति बन्न सक्नु हुन्न भने घाँडो पनि नबनी दिनु होला’ उनले लेखेका छन्, ‘यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनु होला।’
यो स्ट्याटसका विषयमा विभिन्न तरिकाले टिकाटिप्पणी भइरहेको छ। धेरैको अनुमान सभापति लामिछानेलाई नै केन्द्रित गरिएको अनुमान गरेका छन्। लामिछाने (ग्यालेक्सी टीभी) गोरखा मिडिया नेटवर्कमा सहकारीका बचतकर्ताको पैसा अवैध लगानी गरेको विषयले विवादमा छन्।
सहकारीको रकम अपचलनमा उनको प्रत्यक्ष संलग्नता रहेको भन्दै समाचारहरु प्रकाशित भईरहेका छन्। तर लामिछानेले भने सहकारीमा आफू सदस्य नभएको र पैसा लिनका लागि सदस्य हुन जरुरी रहेको धारणा राख्दै आउनुभएको छ। टीभीले सहकारीबाट ऋण लिन नहुने विषय पनि आफुलाई जानकारी नभएको भन्दै उहाँले आफुलाई चोखो वनाउने प्रयास जारी राख्नुभएको छ । यसै वेला श्रेष्ठको स्ट्याटस आएपछि उनले लामिछानेलाई नै केन्द्रित गरेको धेरैले अनुमान गरेका छन्। श्रेष्ठले भने आफूले सभापति लामिछानेलाई लक्षित गरेर त्यस्तो नलेखेको बताएका छन्। तर, आफूले भनेको कुरा सबैको हकमा लागु हुनुपर्ने उहाँको भनाई छ।
‘मैले व्यक्ति विशेषलाई भन्दा पनि प्रवृत्तिलाई लक्षित गरेर यो लेखेको हुँ, जुन सबैको हकमा लागु हुनुपर्छ।’ – श्रेष्ठले भन्नुभयो। उहाँले सहकारी समस्या एउटा, दुईटा नभएर देशव्यापी देखिएको भन्दै यसलाई राष्ट्रिय अभियानकै रुपमा समाधान गर्ने पर्ने जरुरी भएको बताउनुभयो । समस्या समाधानका क्रममा को पर्छ र कसलाई जोगाउने जस्ता कुरामा लागे त्यसले वित्तीय अराजकता ल्याउने उहाँको भनाई छ।
‘सहकारी ठगीका विषय एकपछि अर्को गर्दै आइरहेका छन्। यसमा कुन व्यक्तिलाई फोकस गर्ने भन्दा पनि यो सम्पूर्ण ठगीको प्रक्रियामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्छ’ उहाँले भन्नुभयो –‘उनीहरुलाई कानुनी दायरामा ल्याएर मात्र पुग्दैन ठगिएका पीडितहरुलाई पनि क्षतिपूर्ति र न्याय दिनसक्नुपर्छ।’













प्रतिक्रिया दिनुहोस्