जनता टाइम्स

१९ माघ २०८०, शुक्रबार १२:५६

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच वार्ता के कुरा भयो ?


काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार छलफल भएको छ । उहाँहरूबीचको छलफलमा शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा कुराकानी भएको बझिएको छ ।

भेटपछि पत्रकारसंग कुरा गर्दै अध्यक्ष ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको जानकारी दिनुभयो । । समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउँदै उहाँले भन्नुभयो , ‘खास यो विधेयकमा छलफल भइराख्या छ समितिमा, त्यसलाई राम्ररी मिलाएर छिटै टुंग्याऔं भन्ने विषयमा छलफल भयो ।’

संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बिहीबार पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको टीआरसी विधेयकमाथि छलफल हुँदै आएको छ । त्यसमा मुख्य गरी चार विषयमा सहमति जुटेको छैन ।

मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक गरिएको हत्या÷दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा मिलेको छैन ।

यसैगरी सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने, मानअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाई सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोक्ने भन्ने विषयमा पनि विवाद कायम छ ।