जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार ०८:३५

ललिता निवासको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना


काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न भनेको छ।आज एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र ललिता निवासको जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हो ।

ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने सम्बन्धी सार्वजनिक सूचना विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” ३ गते भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ( १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको उल्लेख गर्दै जग्गा खाली गर्न आग्रह गरेको हो ।

विशेष अदालत, काठमाडौँको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौँ महानगरपालिका वडा नं। ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न सूचना प्रकाशित गरिएको जनाएको छ ।