काठमाडौं, फागुन १२। काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डौका अनुसार शिशुलाई काठमाण्डौको काँडाघारीमा सकुशल फेला पारिएको हो । शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन् । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो । शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिनुभएको थियो ।उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुग्नुभएको थियो । त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ ।
बच्चा चोरी गर्ने महिला दैलेखकी मनिषा सिंह रहेको प्रहरीले बताएको छ । बच्चा चोरी गर्ने महिलाकी दिदी र उनका श्रीमानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया दिनुहोस्