जनता टाइम्स

१० चैत्र २०८०, शनिबार १०:४८

मस्कोमा कन्सट चलिरहँदा भिषण आतंकवादी हमला, ६० को मृत्यु


मस्को, चैत १० । रूसको राजधानी मस्कोमा चलिरहेको एउटा कन्सर्टमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारसंस्था सिएनएनले जनाएअनुसार सो घटनामा परी १४५ जना घाइते भएका छन ।

मस्कोमा रहेको प्रसिद्ध क्रोकस सिटी हलमा शुक्रबार राति भेटेरन रक ब्यान्डले आयोजना गरेको कन्सर्टमा आक्रमणकारी समूह प्रवेश गरेर अन्धाधुन्ध गोलाबारी गरेको थियो । उक्त समूहले दर्शकमाथि स्वचालित हतियारबाट गोली प्रहार गर्नका साथै विस्फोटक पदार्थ पनि प्रहार गरेको जनाइएको छ।

सिटी हल भवनमा आगलागी समेत भएको छ । उक्त आगलागी ६ घन्टापछि नियन्त्रणमा लिइएकोे छ । सो हलमा कन्सर्टबाहेक सपिङ मल पनि सञ्चालित छ । जसमा एकैसाथ ६ हजारभन्दा बढी मानिस अट्नसक्ने जनाइएको छ । हमलापछि आक्रमणकारी समूह भाग्न सफल भएको बताइएको छ ।

लामो समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह ‘आइएसआइएल’ ले हमलामा आफ्नो संलग्नता रहेको दाबी गरेको छ । उसले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको बयान दिएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

मस्कोमा यो पछिल्लो दशयकयताकै सबैभन्दा घातक आतंककारी हमला हो । राष्ट्रपति भ्लादिमिर पुटिन दोस्रो कार्यकालको लागि भएको निर्वाचनमा भारी बहुमतले विजयी भएको भनिएको एक हप्ताभन्दा कम समयभित्रै शुक्रबार यस्तो घातक हमला भएको हो । घटनापछि मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई ‘भयानक त्रासदी’ भनेका छन ।