जनता टाइम्स

३१ बैशाख २०८१, सोमबार ११:४२

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, नेकपा एसले पनि दिने


विराटनगर, ३१ बैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो । आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसक्नुभएको छ । यस्तै उहाँले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसक्नुभएको छ । अर्कोतर्फ उहाँको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको थियो ।

यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ । कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिने तयारी भएको छ । एमाले र माओवादीका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको कार्कीलाई एकीकृत समाजवादी र जसपालेसमेत विश्वासको मत दिने भएका हुन् ।

कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा सामेल नगराइएको भन्दै असन्तुष्ट व्यक्त गर्नुभएको एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताउनुभयो । प्रदेशसभामा एमालेका उप–सभामुख सहित ४०, काँग्रेसका २९, माओवादीका १३, सभामुख सहित राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपा नेपालको १ सांसद रहेकोमा बहुमत पुर्याउन ४७ प्रदेश सभा सदस्यको आवश्यक पर्दछ ।