जनता टाइम्स

८ असार २०८१, शनिबार ११:४३

एकै गाउँका तीन किशोरी बेपत्ता


दमक, ८ असार । झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि तिनका परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् । १३ वर्षीया जेनिसा श्रेष्ठ १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन बुधवारदेखि बेपत्ता भएका भएको परिवारले जानकारी दिएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।

३ किशोरी एकैसाथ हराउनु र ४ दिनसम्म फेला नपर्नु ठुलो चिन्ताको विषय बनेको राईले बताउनुभयो । बेपत्ता किशोरीहरूको परिवार र गाउँ नै चिन्तित बनेर चारैतर्फ खोजी गरिरहेको भए पनि केही पत्ता नपाएपछि पालिका र प्रशासनको शरणमा पुगेको हो । आफ्ना छोरीहरू बेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा अभिभावकले लिखित हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको र खोजीका लागि विशेष टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।