जनता टाइम्स

४ श्रावण २०८१, शुक्रबार १३:५३

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै, देशकै बदनाम गरेको विश्लेषण


काठमाडौं, ४ साउन । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा पर्नुभएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा पर्नुभएको हो । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्बजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।

रानाले दुताबासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गर्नुभएको थियो । उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकोले प्रश्न उठेको हो । उपसभामुख समेत रहेकी रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भएपनि उहाँले सिफारिस गरेका व्यक्तिहरु संसद र संसद सचिवालयसँग सम्बन्धित नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ ।

विभिन्न सञ्चारमाध्यममा उहाँले आफुले अन्जानबस सिफारिस गरेको प्रतिक्रिया दिएपनि यस प्रकरणमा उहाँको यो प्रतिक्रिया प्रयाप्त हुने देखिदैन । यो विषय त्यति बेला नै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि उठेको बताइएको छ । सिफारिस गरिएका व्यक्तिले उजुरी गरेको आधारमा पार्टीको उच्च तहमै छलफल भएको र यो विषयलाई आन्तरिक रुपमा नै सामसुम पारिएको देखिएको छ । उपसभामुख रानाले जस्तो दलिल दिए पनि यो विषयले अब राजनीतिक रुप लिने निश्चित भएको छ । सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिँदै यो गम्भीर विषय भएको बताउनुभएको छ । उपसभामुख संबैधानिक परिषदको सदस्य समेत हुने र उहाँको यो प्रकरणले देशकै बदनाम गरेको विश्लेषण भइरहेको छ ।