जनता टाइम्स

९ मंसिर २०८१, आईतवार १२:०२

आन्दोलन गरिरहेका रास्वपाका नेताविरुद्धको मुद्दा पेसीमा


काठमाडौँ, ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

गोलाबाट तोकिएको पेसी ल नम्बरमा पेसी रहेको छ। सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । पछि इजलासमा निवेदन पुगेपछि दर्ता गर्ने आदेश गरेको थियो ।

उक्त निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ । निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको थियो ।

निवेदनमा न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायत कार्यगरी स्वतन्त्र न्यायपालिकामाथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख छ ।