काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले चैत्र १५ गतेको तिनकुनेको राजावादी प्रदर्शनमा सरकारले नै हिंसा भड्काउने काम गरेको दाबी गरेका छन् । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई तिनकुने घट्नाको न्यायिक छानबिन समिति माग गर्दै ज्ञापन पत्र बुझाएर निस्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘हिंसा भड्काउन सरकार नै संलग्न भएको पाइन्छ, मञ्चमा राष्ट्रिय गान बजिरहेको छ, कार्यक्रम सुरु हुन लागिरहेको छ ।
त्यहाँ अन्धाधुन्द अश्रुग्याँस प्रहार गरिन्छ । बाटोमा हिँडिरहेका मान्छेहरूलाई गोली हालिएको छ । कार्यक्रम स्थलबाट धेरै टाढा रहेका कुनै सम्बन्ध नरहेका, मानिसहरूलाई घरमा पस्दै गर्दा पनि गोली हानिएको छ, सरकारले यतिधेरै हिंसात्मक भयो भनिरहँदा प्रदर्शनकारीहरूसँग एउटा लाठी पनि फेला नपारेको स्थितिमा सरकारले यतिधेरै गोली किन चलायो ?” उनले त्यस दिन झण्डै २५० राउण्ड गोली चलाइएको दाबी गरे । सरकारले भने राजावादीहरुले नै हिंसात्मक गतिविधि गरेको निश्कर्ष निकालेको छ । गणतन्त्र पक्षधरहरुले पनि राजावादी आन्दोलन हिंसामा परिणत हुनुमा उनीहरुको नै हात रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्