काठमाडौं, १ असार । प्रतिनिधि सभामा मुख्य राजनीतिक दल नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग अरूको नैतिकताको प्रश्न उठाउने नैतिक हैसियत नभएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा नैतिकताको आधारमा गृह मन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै नारा जुलुस गरिरहेका रास्वपा सांसदलाई लक्षित गर्दै घिमिरेले रास्वपा नैतिकता नभएको पार्टी भएको बताउनुभयो । एउटा कर्मचारी माथि अनुसन्धान सुरु हुँदा मन्त्रीको राजीनामा माग्नेले अदालतमा मुद्दा परेर जेलमा बसिरहेका पार्टी सभापति र संसदीय दलका नेता बोकेर हिँडेका घिमिरेले बताउनुभयो ।
‘एउटा कर्मचारी माथि अख्तियारले छानबिन सुरु गरेको भन्ने आधारमा नैतिकताको आधारमा राजीनामा माग्ने साथीहरूले पाँच/पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण एवं संगठित अवरोधको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीका सभापति पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ? अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापति पदमा रवि लामिछाने जो जेलमा हुनुहुन्छ, पाँचवटा मुद्दा उहाँ माथि छन्, त्यो पार्टीले अहिले नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन ? मेरो यो प्रश्न छ’, उहाँले भन्नुभयो ।
अरूसँग नैतिकता खोज्नेलाई आफैँ भित्रबाट नैतिक प्रस्तुत गर्न उहाँले आग्रह गर्नुभयो । रास्वपाको संसदीय दलको नेता समेत अहिले पनि रवि लामिछाने नै हुनुले सो पार्टीमा कति नैतिकता छ भन्ने स्पष्ट भएको उहाँले बताउनुभयो । ‘संसदबाट निलम्बन भइसकेको व्यक्तिलाई संसदीय दलको नेता बनाउने पार्टीले अरूलाई कत्तिको नैतिकताको पाठ सिकाउन मिल्ने हो ?’, उहाँले प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्