वीरगन्ज, असार २ । सहकारी ठगी प्रकरणमा अदालतको आदेशले भैरहवा कारागारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सामा पनि मुद्दा दर्ता भएको छ ।
वीरगन्जको आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबीसहित जिल्ला सकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा आइतवार लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
दायर मुद्दाअनुसार लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ भने स्तै छविलाल जोशीविरुद्ध ७ करोड २० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि गत वैशाख १४ गते अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । उक्त प्रतिवेदनमा प्रहरीले सानोपाइला सहकारी संस्थामा लामिछानेसहितको संलग्नतामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा रकम अपलचन यकिन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानले सानो पाइला सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ, काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको तथ्य उजागर गरेको थियो ।
वैशाख १४ गते प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरेर करिब डेढ महिनापछि सरकारी वकिलको कार्यालयले पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । वीरगन्जको सानोपाइला सहकारीमा रकम बचत गरेका ४ सय ३८ बचतकर्ताहरूले आफूहरूको रकम अपचलन गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका थिए ।
सुरुमा २०८० साल साउन २१ गते ५२ जनाले, २०८० सालकै भदौ २२ गते २०७ जनाले र २०८१ साल फागुन २ गते १७९ जना बचतकर्ताले सानो पाइलाले रकम अपचलन गरेको भन्दै लामिछानेसहित विभिन्न व्यक्तिलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराएका थिए । तर त्यसबेला सहकारी ठगी मात्रै अनुसन्धान थालेको प्रहरीले पछि संसदीय छानबिन समितिले सम्पति सहकारी ठगीसँगै शुद्धीकरण र संगठित अपराधमा पनि छानबिन गर्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेपछि पर्सा प्रहरीले ती तीन वटै मुद्दामा अनुसन्धान गरेको थियो ।
लामिछानेलाई सहकारी ठगी लगायतका प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीले गत मंसिर २४ गते पोखराबाट वीरगन्ज ल्याएको थियो । मंसिर २५ गते लामिछानेलाई पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याएर ४ घण्टा बयान लिइएको थियो । त्यसै दिन बयान सकिएपछि लामिछानेलाई हवाईमार्गबाट प्रहरीले काठमाडौं लगेको थियो । बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा लामिछाने हाल पुर्पक्षका लागि भैरहवा कारागारमा रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्