जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार ०९:४१

दुर्गमका जनताका आँखाको ज्योति फर्कियो


बैतडी : बैतडीका दुर्गम गाउँहरूमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत दुबै पालिकामा गरेर ४०० जनाको आँखाको ज्योति फर्किएको छ । शिवनाथमा सञ्चालन भएको दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ४५० जनाले सेवा लिएका छन् । जसमध्ये ११३ जनाको आँखाको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना गरिएको शिविरमा ११५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । गाउँपालिकावासीलाई सहज होस् भनेर विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर आँखा शिविरको आयोजना गरिएको अध्यक्ष साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई स्थानीयस्तरमै निःशुल्क सेवा दिन शिविरको आयोजना गरेका हौँ ।

शिविरमार्फत सेवा लिएका स्थानीयवासी खुसी भएका छन् ।” शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टिमले सेवा दिएको थियो । शिविरमा शिवनाथका मात्रै नभएर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले समेत सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो । यस्तै पुर्चौडीमा सञ्चालन भएको आँखा शिविरमा ९१ जनाको आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा ५३५ जनालाई औषधि वितरण र २१० जनालाई निःशुल्क चस्मा वितरण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमै निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले हामीले बृहत् स्वास्थ्य शिविरको आयोजना गरेका हौँ । जसमा आँखाको चेकजाँचका साथै शल्यक्रिया पनि गरिएको हो ।” पुर्चौडीमा सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरमार्फत दुई हजार ८०० नागरिक लाभान्वित एका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयवासी खुसी भएका छन् ।