जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार १८:१२

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङकाे निर्देशन : सरकारी मिडियाहरुले कुनै नेताको प्रचार नगर्नु, विकासको मात्रै चर्चा गर्नू


काठमाडौँ, ५ जेठ ५ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी मिडियाहरुले कुनै नेताहरुको प्रचार नगरि मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गर्नुभएकोछ ।

सार्वजनिक सेवा प्रसारण नेपाल(पिएसबी) संस्थाले आज नेपाल टेलिभिजनमा ‘सार्वजनिक सेवा प्रसारण नेपाल रुपान्तरण बहस : विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवद्र्धन’ विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सञ्चार मन्त्री गुरुङले यस्तो धारणा राख्नुभएको हो ।

मन्त्री गुरुङका अनुसार सार्वजनिक सेवा प्रसारण नेपाल जनताको आवाज र जनताको प्रतिनिधित्व गर्ने हुँदा यसले अबको कार्यदिशालाई समयसापेक्ष रुपान्तरण गर्न सुझाव दिनुभयो ।

पिएसबीले उठान गर्ने मुद्धाहरुमा राष्ट्रियता एकताको भाव जगाउने, जनताको दुख मर्कालाई उजागर गर्ने, समृद्धि र सुशासनमा जोड पुर्याउने खालका विषय वस्तु हुनु पर्ने मन्त्री गुरुङले धारणा राख्नुभएको थियो ।

त्यस्तै उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले ठुलो भएर मात्रै चित्त बुझाउने बेला नभएको अब युग अनुकुलको कार्य सम्पादन गरेर प्रतिस्पर्धामा उत्रिन सुझाव दिनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै पुगेन, अब समय अनुकुलको कार्य क्षमता प्रर्दशन गरेर अघि बढ्नु पर्छ ।”

सरकारले गरेका गलत कार्यलाई सुधार गर्ने मार्ग चित्रका रुपमा पिएसबी देखा पर्नुपर्ने उहाँको तर्क छ । यद्यपी समाजमा राष्ट्रिय एकता र सद्भाव जगाउन समावेशी मुलक पिएसबी बनाउनु पर्ने मन्त्री गुरुङको बुझाई थियो । संसारमा नेपालको पहिचान स्थापीत गराउन एनटिभी वल्र्ड सुरु गर्न पनि उहाँले सुझाव दिनुभयो ।

त्यस्तै, सञ्चार सचिव राधिका अर्यालले पिएसबीको सहि मोडल अनुसारका कार्य गर्न सुझाव दिनुभयो । जनताले पाउनु पर्ने सहि सूचनाको अधिकारलाई संरक्षण गर्नु पर्ने उहाँको धारणा थियो ।

पिएसपिलाई आत्मनिर्भर बनाउन आवश्यक रचनात्मक क्रियाकलाप अपनाउनु सचिव अर्यालले जोड दिनुभयो । साथै, विनियामावली बनाउने र जनशक्तीको उचित व्यवस्थापन गर्न मन्त्रालयले सक्रिय भुमिका खेल्दै आएको बताउनुभयो ।

कार्यक्रममा पिएसबीका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जनता पहिलो भन्ने भावका साथ पिएसबीका हरेक कार्यक्रम सिर्जना गरिने बताउदै यसका लागि विज्ञहरु सँगको छलफल गरिएको बताउनुभयो । विगतमा जुन सरकार केन्द्रीत हुने नेपाल टेलिभिजन र रेडियो नेपाल अब जनताको आवाज मुखरीत गर्न कटिबद्ध हुने डा. विष्टले प्रतिबद्धता व्यक्त गर्नुभयो ।