जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार १४:२१

घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु


बर्दिया ,२५ जेठ। बर्दियामा घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नम्बर १२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा फलामको रडलाई सिधा बनाउँदा बिजुलीको तारमा छुन गई करेन्ट लागेर थारु गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

यता, बाराको सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा बस्ने ३० वर्षीय सन्जुर मियाको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । विद्युतीय मोटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।