काठमाडौं, १३ असार । चीनका अनुसन्धानकर्ताहरूले पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता ९एआई० प्रणाली विकास गरेका छन् । नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकासले डाक्टरहरूलाई समयमै उपचार शुरु गर्न सहयोग पुर्याउने विश्वास छ ।
पूर्वी चीनको चच्याङ प्रान्तमा रहेको चच्याङ क्यान्सर अस्पताल र अलिबाबाको ‘डामो अध्ययन प्रतिष्ठान’को संयुक्त प्रयासमा तयार गरिएको यो प्रणालीलाई ‘डामो ग्रेप’ भनिन्छ । ७० हजारभन्दा धेरै बिरामीहरूमा गरिएको यो परिक्षणबाट सकारात्मक नतिजा प्राप्त भएको अनुसन्धानकर्ताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनमा हरेक वर्ष दुई लाख ६० हजार मानिसले पेटको क्यान्सरका कारण ज्यान गुमाउने गर्छन् । चच्याङ प्रान्तका दुई अस्पतालमा गरिएको परीक्षणमा, एआई प्रणालीले उच्च जोखिम समूहमा रहेका १७ दशमलव ७ प्रतिशत र २४ दशमलव ५ प्रतिशत बिरामीहरूमा क्यान्सर पहिचान गर्न सफल भएको थियो, तीमध्ये धेरैमा कुनै लक्षण देखिएको थिएन ।
अनुसन्धानका क्रममा ११ जना क्यान्सर पुष्टि भएका बिरामीहरूको अघिल्लो सिटि परीक्षण अध्ययन गर्दा, प्रणालीले दुईदेखि दश महिनाअघि नै असामान्य सङ्केतहरू पहिचान गरिसकेको पुष्टि भएको थियो । अहिले यो प्रणाली चीनभित्र पेटको क्यान्सर बढी देखिने क्षेत्रहरूमा प्रयोगमा ल्याइएको छ र भविष्यमा विदेशमा समेत विस्तार गर्ने योजना रहेको खबरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्