काठमाडौं, मंसिर १२ । नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको विषयमा केन्द्रीय नेताहरूको धारणा स्पष्ट हुँदै गएको छ। पार्टीभित्र वैचारिक तथा राजनीतिक रूपमा चुनौतीकाे परिस्थितिमा शीर्ष नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुला रूपमै उभिन थाल्नु भएकाे छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेसँगै नेतृत्वप्रति एकता आवश्यक हुने धारणा बढेको र सोही कारण शीर्ष तहका पदाधिकारीहरू क्रमशः ओलीको पक्षमा उभिँदै जानुभएको छ। वर्तमान परिवेशमा पार्टीलाई एकताबद्ध गर्न अध्यक्ष ओलीकै नेतृत्व आवश्यक रहेको उहाँहरुकाे तर्क छ ।
महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता विष्णु रिमाललगायतका पदाधिकारीहरू पहिलेबाट नै ओलीको पक्षमा लागिरहनुभएको छ। पछिल्लो समय मौन रहनुभएका अन्य शीर्ष पदाधिकारीहरू पनि ओलीलाई नै आगामी महाधिवेशनबाट पुनः अध्यक्ष बनाउनु पर्ने निष्कर्षमा पुग्नु भएकाे छ। उपाध्यक्ष रामबहादुर थापा र विष्णुप्रसाद पौडेल पनि ओलीको पक्षमा उभिनुभएको पुष्टि भएको छ।
त्यस्तै उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव लेखराज भट्ट, सचिव रघुवीर महासेठ, सचिव छविलाल विश्वकर्मा तथा सचिव पद्मा अर्यालले पनि विद्यमान राष्ट्रिय राजनीतिक परिस्थितिमा अध्यक्ष ओलीकै नेतृत्व उपयुक्त हुने निष्कर्षमा पुग्नु भएकाे छ। उहाँहरूले पार्टी एकता र संगठन सुदृढीकरणका लागि सबैलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न आह्वान गर्नुभएको छ।
पार्टी पदाधिकारी, केन्द्रीय कमिटी तथा केन्द्रीय आयोगका अधिकांश नेताहरू अध्यक्ष ओलीको निरन्तरताको पक्षमा उभिएपछि आगामी महाधिवेशनको समीकरण ओलीकाे पक्षमा अझ बलियाे बनेकाे छ। जिल्लास्तरमा पनि ओलीलाई समर्थन गर्ने वातावरण स्पष्ट बन्दै गएपछि पोखरेलको उम्मेदवारी निक्कै कमजोर देखिन थालेको विश्लेषण गरिएको छ।
पार्टीभित्र घट्दाे साखका कारण मनोनयन दर्ता हुने समयसम्म पोखरेलको उम्मेदवारी यथावत रहन्छ वा रहँदैन भन्ने शंका समेत बढ्दै गएको छ। अन्तिम समयमा पोखरेलले उम्मेदवारी फिर्ता लिने वा अन्य कुनै उम्मेदवार अघि सार्ने सम्भावना पार्टीभित्र चर्चा हुन थालेको छ।













प्रतिक्रिया दिनुहोस्