जनता टाइम्स

२२ पुष २०८२, मंगलवार १३:२७

जाँचबुझ आयोगमा ओलीको जवाफ: आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी थिएनन्


काठमाडौं,  पुस २२ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोग समक्ष दिएको जवाफका ६ बुँदा सार्वजनिक भएका छन् ।

एमाले सचिव महेश बस्नेतले जाँचबुझ आयोगलाई ओलीले दिएको जवाफका मुख्य बुँदाहरू सार्वजनिक गर्नुभएको हो । ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिनुभएको थियो। बयान लिन आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुग्नुभएको थिषृ । बयानमा ओलीले २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको बताउनुभएको थियो ।

आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको ओलीको भनाइ छ । आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको ओलीले दाबी गर्नुभएको छ । २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार शुरू भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको ओलीले स्मरण गर्नुभएको छ । २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको उहाँको भनाइ छ । गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा उहाँले आशंका व्यक्त गर्नुभएको छ
। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनुहुन्थ्यो।