जनता टाइम्स

१६ माघ २०८२, शुक्रबार २३:२२

उम्मेदवार खगेन्द्र सुनारको गाई काटेर खान पाउनु पर्ने अभिव्यक्तिप्रति रास्वपाको स्पष्टीकरण : धार्मिक–सांस्कृतिक भावनामा चोट पुगे क्षमायाचना


काठमाडौं, १६ माघ । गाई काटेर खान पाउनु पर्छ भनी  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीका उम्मेदवार खगेन्द्र सुनारले दिएको अभिव्यक्ति प्रति अन्ततः सो पार्टीले माफी मागेको छ ।

यस अघि सो विषयलाई लिएर सुनारसँग जोडिएर सामाजिक सञ्जालमा आएका विषय कपाेलकल्पित र तोडमोड गरिएको बताउँदै आएको सो पार्टीले गल्ती स्विकारेको हो । पार्टीले औपचारिक विज्ञप्ति सार्वजनिक गर्दै क्षमा मागेको छ ।

रास्वपाले नेपालको संविधान, प्रचलित कानुन तथा मौलिक सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति सधैँ सजग र प्रतिबद्ध रहेको उल्लेख गर्दै उम्मेदवार सुनारकाे अभिव्यक्तिका कारण समाजमा अन्योल सिर्जना भएको स्वीकार गरेको छ ।

विज्ञप्तिमा उम्मेदवार खगेन्द्र सुनारले पार्टीमा जोडिनुअघि दिएका केही अभिव्यक्तिलाई लिएर उत्पन्न भ्रम तथा धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसकेको उल्लेख छ । सुनारले आफू ‘शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको’ स्पष्ट पारेको र सार्वजनिक रूपमा आत्मालोचना समेत गरेको रास्वपाको भनाइ छ । पार्टीले सामाजिक सञ्जालमा उहाँका प्रसङ्गहरू तोडमोड गरेर प्रचार गरिएको दाबी गर्दै त्यसबाट जनभावनामा ठेस पुगेको स्वीकार गरेको छ ।

रास्वपाले उम्मेदवार सुनारलाई यस विषयमा सचेत गराइएको र भविष्यमा अभिव्यक्ति तथा व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन दिएको जनाएको छ । पार्टीले उम्मेदवारको उद्देश्य कुनै धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएकोमा आश्वस्त रहेको पनि स्पष्ट पारेको छ ।

विज्ञप्तिमा रास्वपाको विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्म मानेको उल्लेख गरिएको छ । पार्टीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सधैँ कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

रास्वपाले कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने तत्त्वहरूको पक्षमा पार्टी नरहेको र रहने छैन भन्ने स्पष्ट पारेको छ । पार्टीले आफ्ना उम्मेदवारहरू चुनाव जित्नका लागि मात्र नभई भोलिको संसदमा संयमित, मर्यादित र विधि–विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिने विश्वास दिलाएको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेको विज्ञप्तिमा रास्वपा विधिको शासन, सामाजिक न्याय तथा धार्मिक–सामाजिक सद्भाव कायम राख्दै समावेशी समाज निर्माणको अभियानमा अडिग रहने उल्लेख गरिएको छ ।