काठमाडौं, जेठ ९ । नेकपा (एमाले)को सचिवालय बैठक तीन दिनदेखि जारी छ । बैठकले पार्टीभित्रको संगठनात्मक अवस्था, आगामी राजनीतिक रणनीति, जनतासँगको सम्बन्ध र पार्टीको कार्यशैलीबारे गम्भीर समीक्षा गरिरहेको बेला बाहिर भने ‘अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न थालियो’ भन्ने चर्चा तीव्र रूपमा फैलाइएको छ ।
सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमसम्म एमालेभित्र नेतृत्व संकट सुरु भएको हल्ला चलाइएकाे छ । तर सचिवालय बैठकमा सहभागी नेताहरूका अनुसार बाहिर प्रचार गरिएजस्तो अध्यक्ष परिवर्तनको औपचारिक बहस नभई पार्टीलाई अझ व्यवस्थित, अनुशासित, प्रभावकारी र गतिशील बनाउने विषयमा केन्द्रित छलफल भइरहेको छ । नेताहरूका अनुसार अहिलेको बहस ‘ओलीको विकल्प’ खोज्नेभन्दा पनि ‘एमालेलाई कसरी बलियो बनाउने’ भन्नेमा केन्द्रित छ ।
पार्टी उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा उठेका विषयलाई अतिरञ्जित ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठेको भन्ने चर्चा वास्तविकताभन्दा निकै फरक रहेको स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीभित्र समीक्षा, बहस र फरक मत राखिनु स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै त्यसलाई ‘नेतृत्वविरुद्धको अभियान’का रूपमा प्रस्तुत गर्नु गलत भएको बताउनुभयो । उहाँका अनुसार अहिले एमालेले पार्टीमाथि विभिन्न कोणबाट राजनीतिक आक्रमण भइरहेको र विपक्षी शक्तिहरू एमाले कमजोर भएको सन्देश दिन सक्रिय रहेका बेला सचिवालय बैठकमा पार्टीलाई अझ मजबुत बनाउने विषयमा गम्भीर छलफल भइरहेको छ ।
पार्टीलाई कसरी थप व्यवस्थित, अनुशासित र जनतासँग जोडिएको बनाउने भन्नेमा नेताहरूले धारणा राख्नुभएको छ । नेतृत्व परिवर्तनको विषय बैठकमा आएकाे छैन ।
संगठनात्मक कमजोरीबारे खुलेर समीक्षा
एमाले सचिवालय बैठकमा अधिकांश नेताहरूले पार्टीभित्र देखिएका संगठनात्मक कमजोरी, कार्यकर्तामा देखिएको निराशा, जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको अवस्था र एमाले प्रतिकाे जनअपेक्षाबारे खुलेर समीक्षा गरेको बुझिएको छ । नेताहरूले पार्टीभित्र विधि, पद्धति र संस्थागत निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय एमालेभित्र केही नेताहरू असन्तुष्ट देखिनु, पार्टी नेतृत्व माथि तीव्र आक्रमण गरिरहेका बेला पार्टीले आफ्नो राजनीतिक सन्देश स्पष्ट रूपमा जनतासामु लैजान नसकेको विषय पनि बैठकमा उठेको बताइएको छ । कतिपय नेताहरूले पार्टीभित्र आलोचना सुन्ने संस्कार बलियो बनाउनुपर्ने, दोस्रो पुस्तालाई थप जिम्मेवारी दिनुपर्ने र निर्णय प्रक्रियामा व्यापक सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभएको छ । तर ती धारणा ‘ओली हटाऊ’ अभियानका रूपमा नभई ‘एमालेलाई भविष्यका लागि अझ सक्षम बनाउने’ बहसका रूपमा आएको नेताहरूको दाबी छ ।
योगेशको अभिव्यक्तिले बढाएकाे बहस
बैठकमा धारणा राख्ने नेताहरूमध्ये उपमहासचिव याेगेश भट्टराईले अध्यक्षले ‘मार्गप्रशस्त’ गर्नुपर्ने आशयको धारणा राख्नुभएको चर्चा बाहिरिएपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको भनि हल्ला फिँजाइएकाे हाे । उहाँको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिप्पणीसमेत भयो ।
सचिवालय स्रोतका अनुसार योगेश भट्टराईको भनाइलाई समेत सन्दर्भविहीन रूपमा प्रचार गरिएको छ । उहाँले पार्टीलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन नेतृत्व हस्तान्तरणको संस्कृतिबारे धारणा राख्नुभएको भए पनि तत्काल नेतृत्व परिवर्तनको औपचारिक प्रस्ताव वा माग भने नभएको दाबी एमाले नेताहरूको छ ।
बरु बैठकमा बोल्ने अधिकांश नेताहरूले वर्तमान जटिल राजनीतिक परिस्थितिमा पार्टीलाई एकताबद्ध राख्दै अध्यक्ष ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने धारणा राख्नुभएको बताइएको छ । नेताहरूले एमालेलाई विभाजित र कमजोर देखाउने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
ओली नेतृत्वमै पार्टी अघि बढ्ने
सचिवालय बैठकको समग्र निष्कर्ष हेर्दा एमाले अहिले नेतृत्व परिवर्तनको मोडमा नभई संगठन सुदृढीकरणको चरणमा रहेको देखिएको छ । बैठकमा पार्टी अनुशासन, जनसंगठन परिचालन र पार्टीबीचको समन्वय तथा आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल भइरहेको छ ।
उपमहासचिव भट्टका अनुसार शुक्रबार पाँच जना उपाध्यक्षहरूले धारणा राख्नुभएको थियो भने शनिबार महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो भनाइ राख्नुभएको छ । बाँकी चार सचिवले आइतबार धारणा राखेपछि प्रस्तावित एजेण्डा माथि निर्णय प्रक्रिया अघि बढाइनेछ ।
बैठकमा नेताहरूले पार्टी कामलाई अझ प्रभावकारी बनाउनुपर्ने, जनतामा आशा जगाउने कार्यक्रम ल्याउनुपर्ने तथा पार्टीको सन्देश स्पष्ट रूपमा जनतासम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् । एमालेभित्र अहिलेको मुख्य चिन्ता नेतृत्व परिवर्तनभन्दा पनि पार्टीलाई आगामी चुनाव र राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउने रहेको नेताहरू बताउँछन् ।
एमालेभित्र विवाद देखाउने प्रयास
एमाले नेताहरूले अहिले पार्टीभित्रको सामान्य समीक्षा र बहसलाई अतिरञ्जित गर्दै ‘एमाले संकटमा’, ‘ओलीविरुद्ध विद्रोह’जस्ता भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । उनीहरूका अनुसार एमाले बलियाे राजनीतिक शक्ति भएकाले त्यसलाई कमजोर देखाउने प्रयास भइरहेका छन् । एमालेभित्र बहस हुनु अस्वाभाविक नभइ बहसलाई फुट र विद्रोहका रूपमा व्याख्या गर्नु भने नियोजित प्रचार हो ।
एमालेभित्र अहिले संगठनलाई पुनः चलायमान बनाउने, कार्यकर्तामा उत्साह फर्काउने र जनतामाझ पार्टीको प्रभाव बलियो बनाउने विषयमा गम्भीर छलफल चलिरहेको नेताहरू बताउँछन् । सचिवालय बैठकले आगामी दिनमा पार्टी अनुशासन, संगठन विस्तार, जनपरिचालन र सरकार सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा केही महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।
राजनीतिक विश्लेषकहरू पनि एमालेभित्र अहिले देखिएको बहसलाई सामान्य संगठनात्मक समीक्षा प्रक्रियाका रूपमा हेर्नुपर्ने बताउँछन् । उनीहरूका अनुसार लामो समय सत्ता र नेतृत्वमा रहेको पार्टीभित्र समीक्षा र पुस्तान्तरणको बहस उठ्नु स्वाभाविक भए पनि त्यसलाई तत्काल नेतृत्व संकटका रूपमा बुझ्नु हतारो हुने टिप्पणी गरेका छन् ।
एमालेभित्र अहिलेको मुख्य बहस केपी ओलीको विकल्प खोज्ने होइन, बरु ओलीकै नेतृत्वमा पार्टीलाई अझ व्यवस्थित, अनुशासित, गतिशील र जनमुखी बनाउने दिशामा केन्द्रित देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्