काठमाडौं, मंसिर ८ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहमति भएको १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण ऊर्जा तथा पूर्वाधार विकासमा आवश्यकता अनुसार उपयोग गरिने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले उक्त रकम तत्काल ऋणका रूपमा लिइने नभई आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पार्नुभयो ।
नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेकाले प्रसारण लाइनलगायतका पूर्वाधार निर्माणमा उक्त ऋण उपयोग गर्न सकिने उहाँले बताउनुभयो ।
अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्न सकिने विकल्पले विनिमय दरको जोखिमसमेत घटाउने उहाँको भनाइ छ । यद्यपि, ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडबारे प्राविधिक छलफल हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
भारत भ्रमणका क्रममा नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिट प्राप्त गरेको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।
यसैबीच, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक उपलब्धि भएको उहाँले बताउनुभयो ।
सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजना नयाँ नभई सन् २००४ देखि नै नेपाल–भारतको संयुक्त अध्ययनमा रहेको उहाँले स्पष्ट पार्नुभयो । भारतसँग तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’ भिजन डकुमेन्टले नेपालको विद्यमान नीति तथा योजनालाई विस्थापित नगर्ने पनि उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्