जनता टाइम्स

२४ कार्तिक २०७७, सोमबार ११:१८

लीलामणि कमरेडको गैरकम्युनिष्ट चिन्तन


लीलामणि पोखरेल ओलीले नेपालको चुच्चे नक्सा हटाएको भनेर अर्को झुटमाथि अर्को सफेद झुट बोल्दै हुनुहुन्थ्यो । आकासमा उडिरहेको विमानको निक्कै अग्लो उचाइबाट हेर्दा लीलामणि पोखरेल कमिलो देखिनुहुन्छ । अनि यत्तिकै भरमा लीला कमरेड परमधाम गए भन्न्न सुहाउँछ ? त्यसैगरी ओली सरकारले आजको भोलि समाजवाद ल्याएन भनेर बोल्नुको कनै तुक छ ?

प्रा.डा.बद्रीविशाल पोखरेल

हालै सशक्त युवा पत्रकार ज्योति किरणसित भृकुटी अनलाइन टेलिभिजनको वार्ताका क्रममा नेकपाका स्थायी समिति लीलामणि पोखरेलले प्रधानमन्त्रीलाई लिच्चड भनेपछि यो लेखकलाई उनको कम्युनिष्ट चिन्तनप्रति गम्भीर आशङ्का भयो । उनले मन्त्रीलाई पनि उक्त शब्द प्रयोग गरे । बारबार मन्त्री भइरहेका अर्का पोखरेल थरी मन्त्रीलाई लक्षित गरेर लिच्चड शब्द प्रयोग गरेको हो भने पनि यस्ता शब्दावली प्रयोग गर्नु किमार्थ जायज हुँदैन । एउटा उपल्लो तहको कम्युनिष्टले यस्ता गैरराजनीतिक र गैरकम्युनिष्ट शब्द प्रयोग गर्दैन । माक्र्सवादले यस्ता विषयमा अनेक मर्यादित शब्दावली सुझाएको छ ।

असारदेखि जारी स्थायी समितिको वैठकमा नेता केशव बडालका अनुसार केही नेताले ओली लक्षित अशिष्ट, अमर्यादित र अराजनैतिक भाषा प्रयोग गरिएको भन्ने कुरा लीलामणिका लवजबाट सत्य सावित भएको छ । खुल्ला रुपमा मिडियामा यसरी निकृष्ट शब्दावली प्रयोग गर्ने नेताले बैठकमा केसम्म भन्न बाँकी राखे होलान ? अनुमान मात्र गर्न सकिन्छ । माक्र्सवादले अतिनिन्दा र अतिप्रशंसालाई वर्जित गर्छ र आलोचना तथ्यमा आधारित हुनुपर्छ भन्छ । कम्युनिष्ट पार्टी र त्यसका उपल्ला तहका भनिएका नेताहरुलाई के कस्ता शब्द प्रयोग गर्नुपर्छ भन्ने सिकाइरहनु पर्ने विषय होइन । लीलामणि पोखरेल आफ्नो अन्तर्वार्तामा प्रधानमन्त्री ओलीलाई दानवीकरण र पुष्पकमल दाहाल प्रचण्डलाई देवत्वकरण गर्दै हुनुहन्थ्यो । एक समयको उग्रवाद भाषाशैलीमा प्रकट भइरहे जस्तो लाग्यो ।

पोखरेलले ओलीले प्रधानमन्त्रीका रुपमा रहेर केही पनि राम्रो काम नगरेको र प्रथम अध्यक्षका रुपमा रहेर उल्टो पार्टीसमेत अस्तव्यस्त पारेको बताउँदै हुनुहुन्थ्यो । तर उहाँले कार्यकारी अध्यक्ष भएर प्रचण्डले पार्टी कामका नाममा सिन्को पनि नभाँची व्यक्तिगत स्वार्थ केन्द्रित गुटगत भेलामा मात्र लिप्त रहेको वास्तविकता पूरै लुकाउनु भयो । पूर्वमाओवादीले नामहरु नदिएर पार्टी सल्लाहकार परिषद, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च अझै अपूरो रहेको नेता बडालको भनाइ यथार्थ सत्य देखिन्छ । यसैगरी ३२ वटा केन्द्रीय विभागहरु पनि पूर्वमाओवादीले नाम नदिएर अझै अधूरो रहेको देखिन्छ । अनि यी सब काम ओलीले नै गरिदिनु पर्ने हो र ? अनि केही दिन अघि पार्टी स्थायी समितिको बैठकको निर्णयअनुसार आगामी केन्द्रीय समिति बैठकको तयारी र आगामी महाधिवेशनका सन्दर्भमा गर्नुपर्ने काम नगरी कार्यकारी अध्यक्षले हात बाँधेर बस्न हुन्छ, सुहाउँछ ? आफ्ना जिम्माका कामहरुमा पटक्क ध्यान नदिने अनि ओलीलाई सबै दोषारोपण गरेर सुख पाइएला लीला कमरेड ? आज बोलेको भोलि नै खण्डित हुने बोली बोलेर किन बल्लबल्ल निर्माण भएको व्यक्तित्व विघटन गर्दै हुनुहुन्छ कमरेड ?

नेता हरिबोल गजुरेलले प्रचण्ड हुन्छ, हस र हजुर भन्ने केही अवसरवादीहरुको घेरामा परेको र सही सल्लाह दिँदा पनि नमान्दा उहाँ समस्यामा आफैँ फस्दै गएको बताउनु भएको यथार्थ लीलामणिका प्रचण्ड लक्षित देवत्वकरणबाट अवगत हुन्छ । नेपाल, खनाल र दाहाल पटकपटक प्रधानमन्त्री हुँदा तुइन विस्थापित गर्ने शुद्धिबुद्धि कहाँ थियो ? तुइनबाट ज्यानको बाजी लगाएर पढ्न जाने, आउने स्कुले नानीहरुको समस्या प्रधानमन्त्री हुनुभएका ओलीले मात्र देख्नुपर्ने कारण के ? देश र जनताको हितमा काम गर्नेहरुले यसरी सोच्छन र पूरा गर्छन । यस्ता दूूरदर्शी सोचका नेताले जनताको हितमा काम गर्छन । अरु आजीवन व्यक्तिगत पद, प्रतिष्ठा र शुभ लाभमा मात्र हत्ते हाल्छन ।लीला कमरेड हजार झुटलाई एउटै सत्यले नराम्ररी पराजित गर्छ । प्रसिद्ध गायिका आनी छोइङले तुइन विस्थापित गर्ने ओलीलाई १ करोड चन्दा सहयोग गर्नुभयो, तर तपाईंहरु त सरकारका जे जति भए पनि सकारात्मक कामलाई एक वचन बोलेर प्रोत्साहित गर्न कप्ट्याईं गर्नुहुन्छ किन ?

यति मात्र होइन, तपाईंले कुलमान घिसिङका बारेमा पनि यसरी नै सफेद झुट बोल्नु भएको थियो । २०७२ सालमा भारतसित तत्कालीन ओली सरकारले विद्युत खरीद सम्झौता गरेर ४०० केभीए विद्युत प्राप्त भएको र राधा ज्ञवाली उर्जामन्त्री हुँदा ३० किलोमीटरमा छ वटा विद्युत टावरसहित आवश्यक भौतिक तयारीका लागि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ७ करोड निकासा गरिदिएर लोडसेटिङ हटाउनेलगायत तमाम पूर्वाधार तयार गरिदिएपछि लोडसेडिङ हट्ने मुख्य आधार बनेको पटक्क उल्लेख नगरेर किन के कारण कुलमानको सडकमा वकालत गर्नुहुन्छ लीला कमरेड ? गोयबल्स शैलीका दुष्प्रचारमा परेर ८,९ वर्षका बाल बालिकाहरुले समेत कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी अध्यक्ष पुनर्नियुक्ति गर्नुपर्छ भन्ने सतही सडक आवाजलाई पोखरेलले आधार बनाएर घिसिङलाई एक टेलिभिजन कार्यक्रममा देवत्वकरण गरेको देखेर लाज नै लजाएको थियो ।

यस्तै हो कम्युनिष्ट चरित्र र चिन्तन ? होस गर्नुहोला, एउटै भए पनि तपाईंहरुका सफेद झुटलाई सफाचट पारिदिने हैसियतका मान्छेहरु जीवित छन । अरुको चिन्ता छाडेर आफ्नो राजनीतिक भविष्य हेरेर सन्तुलित रुपमा अगाडि बढ्दा राम्रो र भलो होला । तपाईंले आफ्नै पार्टीको सरकारले गरेको राम्रो काम देख्नु भएनछ । यसको फेहरिस्त जान्न र बुझ्न एउटा मोटो कपी लिएर टिप्न बसे हुन्छ । सरकारले अढाइ वर्षमा भूकम्पपीडित र बारापर्सामा सुनामीपीडित जनताका गरी जम्मा ७ लाख आवास निर्माण गरिदिएको पहिले कहीँ कतै सुन्नु भएको थियो ? भारतबाट पाइप लाइनबाट पेट्रोलियम आयात गर्दा देशलाई वार्षिक कति करोड नाफा भएको थाहा छ ? रानी पोखरी उद्घाटन भयो, हेर्न जानुभयो ? आधुनिक धरहरा निर्माण सम्पन्न हुँदैछ थाहा छ ? यही सरकारले कतिवटा पुलपुलेसा, पिच, अन्तराष्ट्रिय एअरपोर्टलगायत अनेक काम गरेको छ, सुन्नुभएको छ ? अहिले तराईका राष्ट्र विखण्डनकारी कहाँ छन, थाहा छ कमरेड ?

अझ माक्र्सवादी द्वन्द्ववादको सर्वथा विपरीत आफ्नै पार्टीको सरकारले केही काम गरेको नदेख्नु र पूरै अन्धवादी दृष्टिकोणका आधारमा सार्वजनिक मिडियामा सत्तोसराप गर्नु कुन कम्युनिष्ट नैतिकता हो ? बाह्य आवरणमा मात्र कम्युनिष्ट हुँदा गम्भीर समस्या उत्पन्न हुन्छ । त्यसैले लीलामणिले अति सामान्य अनुशासनलाई सर्वथा परित्याग गर्न थालेको देखिन्छ । उहाँले केही समय अघि सरकारका बारेमा सन्तुलित विचार व्यक्त गर्नुभएको थियो । यसबाट पोखरेल चाहिँ ठीकै हुनुहुन्छ कि भन्ने यस लेखकलाई लागेको थियो र तदनुसार लेखेको पनि थियो तर उक्त कुरा झुट रहेछ । बाम उग्रवाद समय क्रममा उग्रदक्षिणपन्थमा परिणत हुन्छ भन्ने कुराका ज्वलन्त उदाहरण बाबुराम भट्टराई मात्र होइन, पोखरेल बन्धुहरु पनि त्यतैतिर उन्मुख हुन थालेको यस लेखकले अनुमान गर्न थालेको छ । नेतालाई चुनावमा जिताउन बौद्धिक र भौतिक दुवै सहयोग गर्नु पर्ने अनि माननीय र मन्त्री भएपछि तिनले अराजक र सामान्य अनुशासनहीन तरिकाले बालेर र गरेर सडकभरि पारेको फोहोर पनि सफा गरिदिनु पर्ने दुर्भाग्य देखिने गरेको छ ।

माओले प्रतिक्रान्तिकारीहरुलाई बाहिर टाउको निकाल्न दिइयो भने र यसलाई कार्यकर्ताले चाहिँ आँखा चिम्लेर बसे भने शत्रु र हाम्रा बीचको फरकलाई बुझ्न सकेनन भने र शत्रुहरु हाम्रा माँझमा सुटुक्क पसे भने उनीहरुका नरम र कठोर छलकपटहरुका अगाडि निःशस्त्र भएर रहे भने केही वर्षमा प्रतिक्रान्तिकारी पुनःस्थापना नभइछाड्ने छैनन भन्नु भए अनुसार काम कर्ममा लीलामणिहरु कन्दनी कसेर लागेको देखिन्छ । स्थायी समिति सदस्य मणि थापाले पार्टी एकीकरणमा सजातीय मात्र होइन, विजातीय तत्व पनि समावेश भएको हुन्छ भन्नुभएको अहिले यो लेख लेखरहँदा सम्झना भयो । अझ थापाले पूर्वएमाले राजनीतिक संस्कार भएको पार्टी रहेछ पनि भन्नुभएको थियो । उहाँले नै साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरु नेपालको कम्युनिष्ट आन्दोलनभित्र पसेर यसलाई लामो समयदेखि अन्तध्र्वंश गरिरहेको शिक्षाबाट अहिले अत्यन्त सचेत भएर लाग्नुपर्छ भन्नु भएको थियो ।

लीलामणि पोखरेल ओलीले नेपालको चुच्चे नक्सा हटाएको भनेर अर्को झुटमाथि अर्को सफेद झुट बोल्दै हुनुहुन्थ्यो । आकासमा उडिरहेको विमानको निक्कै अग्लो उचाइबाट हेर्दा लीलामणि पोखरेल कमिलो देखिनुहुन्छ । अनि यत्तिकै भरमा लीला कमरेड परमधाम गए भन्न्न सुहाउँछ ? त्यसैगरी ओली सरकारले आजको भोलि समाजवाद ल्याएन भनेर बोल्नुको कनै तुक छ ? चीनले समेत अहिले पनि आफूलाई समाजवादी देश भन्न सकेको छैन । पोखरेलले सत्ता र सरकारको सामान्य फरकसमेत उल्लेख नगरी बोलेको देख्दा यो लेखक चकित परेको छ । उहाँ भारतीय सामन्त गोयलले प्रधानमन्त्रीसित भेट गरेको विषयलाई अतिशयोक्तिपूर्वक उछालेर भड्काउ कुरा गर्दै हुनुहुन्थ्यो । तर यसैपालि दाहाल, नेपाल लगायत पूर्वप्रधानमन्त्रीहरुले लावा लस्कर लागेर गोप्य रुपमा भारतीय रअ सित लम्पसार परेर भेटेको विषय चाहिँ लीलामणि लुकाउँदै हुनुहुन्थ्यो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका अनुसार उपर्युक्त विषय अनावश्यक विवाद गरिरहनु पर्ने विषय नै होइन ।

नेकपाका स्थायी समितिका केही नेताहरुको अवस्था चिन्ताजनक देखिन्छ । माओले झैँ लीलामणि पोखरेलहरुलाई बेस्सरी समात भनेर सिकाउनु पर्ने अवस्था देखिन्छ । किनकि उहाँहरु प्राप्ति र उपलब्धि बेस्सरी नसमाती उल्टो तिनलाई खुइल्याउन न्वारानदेखिको बल लगाइरहेको देखिन्छ । सडकमा थापा थरि युवाले सारमा गोयबल्स शैलीमा सामाजिक सञ्जाललाई भाइरल बनाएर आम जनतालाई सरकारविरुद्ध भड्काएर भ्रमजालमा पार्नु आफूहरुको मूल उद्देश्य रहेको बताए ।

तर आफ्नै सरकारका सकारात्मक काम आम जनमानसमा प्रवाह पटक्क नगरी सदा विरुद्धमा मात्र सडकमा उग्र, उत्तेजक र अमर्यादित अभिव्यक्ति कुन माक्र्सवादी चरित्र र चिन्तन हो लीला कमरेड ? प्रथम पार्टी महाधिवेशनसम्म नपर्खी २००८ सालमा सम्मेलन गरी संस्थापक महासचिवलाई पुष्पलाललाई महासचिवबाट हटाएजस्तो कृत्य अहिले गर्न दिइदैन, अनि २०१० सालमा भएको प्रथम महाधिवेशनमा पुष्पललालको विचार पारित गरे पनि महासचिव मनमोहन अधिकारी भएको जस्तो विसंगति पनि अब चल्दैन । एक पटक झुक्याउन सकिन्छ कमरेड, पटक पटक बहुमतका नाममा अब मनपरी गर्न पाइन्न भन्ने कुरा बेलैमा बुझ्नु होला ।