यो बिष्फोटले नेपालको कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति त पुगेको छ नै, देश हाँक्ने संभावना बोकेका दोश्रो र तेश्रो पुस्ताका नेताहरुको भविष्यलाई पनि अन्धकारमय बनाईदिएको छ । त्योभन्दा पहिले एक पटक पूरा कार्यकाल प्रधानमन्त्री बन्ने चाहना र झलनाथ खनालको राष्ट्रपति बन्ने चाहनाको चाँहि घटनास्थलमै अवसान भएको छ
निर्मल भट्टराई
सन १९२५ मा विख्यात अंग्रजी साहित्यकार एचजीवेल्सले एउटा कथा लेखे-द पल्र्स अफ लभ । उक्त कथाको सारांश यस्तो छ-उत्तर भारत कुनै राजकुमार एउटी “अवर्णनीय” सुन्दरीसंग माया मोहमा फस्दछ न, तत्काल त्यो केटीसंग विवाह बन्धनमा बाँधिन्छन्। विधिको विडम्वना, त्यो नवविवाहित राजदम्पतिको सुख कुनै बाक्लो जङ्गलबाट निस्केको विषालु सर्पको डसाईबाट ती नवविवाहित राजकुमारीको एक वर्ष नवित्तै ज्यान गएपछि समाप्त हुन्छ। राजकुमार शोकविह्वल हुन्छन, लामो मौनतापछि उनी यो निर्णयमा पुग्दन। कि उनी जीवनभर अर्को विवाह गर्नेछैनन्। दिवंगत राजकुमारीको सम्झनामा एक भव्यस्मारक निर्माण गर्न उनले आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नेछन्।
राजकुमारको योजना जनताले स्वीकार गरे। हीरा, मोती, जुहारत, सुनले सुसज्जित राजकुमारीको चिहानलाई केन्द्रमा पारेर भव्य स्मारक बनाउन शुरु गरियो। वर्ष वित्तै गए, त्यस स्मारकको भव्यता थपिदै गयो। सितीमिती चित्त नबुझाउने राजकुमार भएकोले भत्काएर नयाँनयाँ डिजाइन थपिदै गए। राजकुमारको सोच र त्यस क्षेत्रका त्यसबेलाका सर्वोत्तम कालिगरहरुको दिमाग लगाएर स्मारकको काम लगभग सकियो। तर राजकुमारलाई अझै स्मारकको सुन्दरता र भव्यतासंग चित्त बुझेन। राजकुमार घण्टौंघण्टा सो स्मारकमा के मिलेन वा बढी भयो भनेर एकोहोरो हेरिरहन्थे।
अन्त्यमा राजकुमारले आदेश दिए—“राजकुमारीको शव त्यहाँबाट हटाऊ !”
प्रशङ्ग प्रचण्डको स्वभावको हो। संविधानसभाले बनाएको संविधानको आधारमा हुने प्रथम निर्वाचन लड्न तत्कालीन एमाले र तत्कालीन माओवादीले संयुक्त रुपमा चुनाव लड्न गठबन्धन निर्माण गरे। गठबन्धन मात्र निर्माण गरेनन्, चुनाबपछि पार्टी एकता गर्ने घोषणासमेत गरे। चुनाबमा झण्डै दुईतिहाई जनताले बाम गठबन्धनलाई साथ दिए। परिणाम स्वरुप केन्द्र र प्रदेशमा बामगठबन्धनका शक्तिशाली सरकार बनेर घोषणा गरिएबमोजिम पार्टी एकतासमेत गरियो। यो अवधिमा बामगठबन्धन र पार्टी एकताको आवश्यकता र औचित्यकाबारे लिखित र मौखिक व्याख्या नेपालीको राजनीतिक बजारमा निस्किए। स्थीरता, शान्ति, सुशासन, आर्थिक सम्वृद्धि, सन्तुलित विदेश नीतिका हेतु नेकपाको एकताको आवश्यकता र औचित्य देशव्यापी दर्शाईयो। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनाबअघि र पछिका देश दौडाहा यसैमा केन्द्रित रहे। नेकपाका अन्य शीर्ष नेता पनि नेकपा एकतालाई निष्कर्षमा पुर्याउन तल्लीन रहे। बाम गठबन्धनबाट हात लागेको उपलब्धिले सबैलाई अचाक्ली हौस्यायो पनि ।
ईतिहासमै नभएको र विरलै अपेक्षा गरिएको तत्कालीन एमाले र तत्कालीन माओवादी पार्टी जस्ता भीमकाय पार्टीको एकीकरण अब अन्तिम चरणमा पुगेको थियो। केन्द्रका केही अंगहरुर तृणमूल तहका केही पार्टी संगठनको एकता भएपछि नेकपाको सांगठानिक एकताको मैझारो गर्ने भनिदै थियो। ठीक यही विन्दुमा विगतमा जनयुद्धको नेतृत्व गरेका, शान्ति प्रक्रियामा निर्णायक भूमिका खेलेका, संविधान निर्माणमा लचकता र सिर्जनात्मकता प्रयोग गरेका र संविधानको घोषणापछि “आमूल सामाजिक आर्थिक रुपान्तरणको माध्यमद्वारा समाजवादमा पुग्ने” ध्येयका बामगठबन्धन र पार्टी एकताको काम हुदै गर्दा एकाएक नेकपाका अध्यक्ष प्रचण्डबाट एउटा सार्वजनिकअभिव्यक्तिआयो—“कहिले कहीं मलाई लाग्छ, पार्टी एकता भुल भयो कि, पार्टी एकता नगरेको भए विकल्प बाँकीर हन्थे कि !”
भनिन्छ—हरेक मानिसका अभिव्यक्तिले उसको कतिपय अव्यक्त चाहना र हुटहुटीको पर्दाफास गर्दछ।“ आवश्यकताअनुसार सरकारको आलोपालो गरिनेछ।”भन्ने तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको सहमति कार्यान्वयनमा समस्या देखिदै जाँदा र सरकारको आलोपालो नेतृत्वको आवश्यकता कसले र कहिले महसुस गर्ने भन्नेमा कुनै प्रष्टता नभएको बखत आएको यो अभिव्यक्ति अर्थपूर्ण थियो। त्यही बिन्दुदेखि एमालेका नेताहरु प्रचण्डबाट पार्टी भत्काउन चाल्न सक्ने संभावित षडयन्त्रप्रति चनाखो हुन सकेको भए वर्तमान विभाजनमा नगण्यमात्र क्षति हुन सक्थ्यो । प्रचण्ड प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आयु पर्खेर बसेको खुलासा प्रचण्ड- माधव समूहका एक नेता सुरेन्द्र पाण्डेले गरिदिएपछि त नेकपा सके कब्जा, नसके विभाजन गराउन पहिलेदेखि नै ठूलो चलखेल भएको प्रष्ट भएको छ ।
नेपाली राजनीतिका शीर्ष पुरुष केपी ओलीलगायतका एमाले नेताहरुले एकतामा प्रचण्ड पटक्कै ईमान्दार थिएनन् भन्ने सुईको बेलैमा नपाउनुलाई चाँहि विडम्वना नै मान्नुपर्छ । प्रचण्डको उदेश्य बाम एकताबाट शक्तिशाली कम्युनिष्ट पार्टी बनाउनु थिएन, बरु विभिन्न आँधी हुरीबाट जोगिदै आएको एमाले भत्काउनु थियो । लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्नु सामान्य कुरा हो।नेता, कार्यकर्ता, जनता सबैले असन्तुष्टि व्यक्त गर्न पाउछन् । असन्तुष्टिको कारण खोजेर समाधान पनि गरिन्छ । तर, पार्टी एकताको सूत्रधार, निर्णायक पदमा आसिन र एकताको क्रममा नेता-कार्यकर्तामा देखिन सक्ने असन्तुष्टिलाई साम्य पार्न भूमिका खेल्न पर्ने प्रचण्डको उल्लिखित कथाको राजकुमारको जस्तो असन्तुष्टि र हुटहुटीको कारण वेलैमा थाहा नपाउदा तत्कालीन एमालेको सुन्दर घरमा आज बम विष्फोट हुन पुग्यो । माधव-जेएनको उक्साहटमा प्रचण्डबाट एमालेमा बम प्रहार भयो । विभिन्न पार्टी भत्काउदै आएका प्रचण्ड एमाले पनि भत्काउन सफल भए ।
यो बिष्फोटले नेपालको कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति त पुगेको छ नै, देश हाँक्ने संभावना बोकेका दोश्रो र तेश्रो पुस्ताका नेताहरुको भविष्यलाई पनि अन्धकारमय बनाईदिएको छ । त्योभन्दा पहिले एक पटक पूरा कार्यकाल प्रधानमन्त्री बन्ने चाहना र झलनाथ खनालको राष्ट्रपति बन्ने चाहनाको चाँहि घटनास्थलमै अवसान भएको छ।
प्रतिक्रिया दिनुहोस्