बुटवल, पुस १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलसहित तीन जना प्रभावशाली नेताहरुले पार्टी बिभाजनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले गर्नुभएको षडयन्त्रको पोल खोल्दै कडा चुनौती दिनुभएको छ ।
नेकपा रुपन्देहीले बुटवलमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पौडेल, प्रदेश ५ का नेकपा इञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड र माधवको सत्ता र शक्तिमा रहने लोभले पार्टी अहिलेको अवस्थामा आइपुगेको तथ्य राख्नुभयो ।
नेकपाका दुई अध्यक्षबीच सहमति कायम गर्न अन्तिमसम्म कसरत गरेका तीन नेताले प्रचण्ड नै पार्टी विभाजनको प्रमुख दोषी रहेको एक दर्जन तथ्य राख्नुभयो । तीनै जना नेताहरुले प्रचण्डको एकल अध्यक्ष र प्रधानमन्त्री हुने लोभले मुलुक यो अवस्थामा पुगेको घटना सुनाउनु भयो ।
भेलामा महासचिव एवं अर्थमन्त्री पौडेलले प्रचण्ड र माधव नेपालको पदीय महत्वाकांक्षाले जटिल अवस्था सिर्जना भएको बताउनु भयो ।
‘पदको लोभले मुलुक र पार्टीलाई अराजकतातर्फ धकेल्ने प्रयास भइरहेको थियो, प्रचण्डलाई प्रधानमन्त्री र पहिलो अध्यक्ष बन्ने लोभ, माधव कमरेडलाई महाधिवेशन हारेर पनि अध्यक्ष बन्नुपर्ने लोभ,’ पौडेलले भन्नुभयो, ‘लोभमा परेर मुलुक र पार्टीलाई अराजकतातर्फ लैजाने प्रयास थियो, प्रधानमन्त्री ओलीले त्यसलाई रोकेर जनतामा जाने निर्णय लिनुभयो ।’
महासचिव पौडेलले बरिष्ठ नेताबाटै पार्टीमाथि धारिलो खड्ग प्रहार भएको तथ्य पनि राख्नुभयो । प्रचण्डले पहिलो अध्यक्षमाथि लगाएका संघीन आरोप नै पार्टी विभाजनको आधार भएको उहाँको भनाई थियो । सहमति गर्ने र मसी सुक्न नपाउदै उलंघन गर्ने प्रचण्डको अस्थिर मनोविज्ञानले पार्टी एकताको काम हुन नसकेको तथ्य पनि महासचिव पौडेलले खोल्नुभयो । प्रधानमन्त्रीले संविधान अनुरुप नै संसद विघटन गरेकाले पुर्नस्थापनाको प्रसंगै नरहेको उहाँको तर्क थियो ।
‘कोही अलमलमा हुनुहुन्छ भने अव ढुक्क भएर आउनुस, मुलधारको नेकपा यही हो, दुई तिहाई मतसहित चुनाव जित्ने योजना बनाएर जनतामा जानुस,’ पौडेलले भन्नुभयो । उहाँले माधव नेपाल र प्रचण्डलाई समेत चुनावमा आउन सुझाव दिनुभयो । संसद पुनःस्थापना नहुँदासम्म सडकमै बस्छौं भन्ने अडानले जीवन नै त्यहीँ बित्न सक्ने उहाँको टिप्पणी थियो । ‘उहाँहरुले संसद पुनःस्थापना नभएसम्म सडकमै हुन्छौं भन्नुभएको छ, मलाई उहाँहरु सडकमै हराउनुहुन्छ कि भन्ने चिन्ता छ, किनभने संसद पुनःस्थापना हुने कुनै आधार नै छैन,’ महासचिव पौडेलले भन्नुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टी इञ्चार्ज शंकर पोखरेलले प्रचण्डलाई चुनावमा आएर प्रधानमन्त्री हुन चुनौती दिनुभयो । महाधिवेशन हारेर अध्यक्ष र चुनावविना नै प्रधानमन्त्री हुन रहर गर्नेहरु आन्दोलनभन्दा चुनावमा आउनुपर्ने पोखरेलको भनाई थियो । ‘टीका लगाएर प्रधानमन्त्री र अध्यक्ष हुने अवस्था छैन, त्यसैले हिम्मत भए चुनावमा आउनुस,’ पोखरेलले भन्नुभयो । उहाँले प्रचण्ड र माधव समूह कार्यकर्ताको नभइ नेताहरुको झुण्ड मात्रै रहेकाले निर्वाचनमा जान हिम्मत नभएको ठोकुवा पनि गर्नुभयो । ‘उहाँहरुमा निर्वाचनमा जाने हिम्मत छैन, त्यसैले हामी यहाँ छौं भन्दै सडकमा पुग्नुभएको छ,’ पोखरेलले भन्नुभयो ।
स्थायी कमिटी सदस्य एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूलाई समिक्षा गरेर अघि बढ्न प्रचण्डलाई सुझाव दिनुभयो । ३३ वर्ष आफैँले आफैँलाई टीका लगाएर अध्यक्ष बनेको टिप्पणी गर्दै उहाँले अव प्रचण्डको अधोगति शुरु भएको र खाडलमा फसेको ठोकुवा गर्नुभयो । ‘आफ्ना खल्तीबाट केन्द्रीय समिति निकाल्ने, चाकडी गर्नेलाई टिका लगाइदिने, नियुक्ती पनि आफ्नैलाई चाहिने, प्रचण्डको पोल खोल्दै रायमाझीले भन्नुभयो, ‘प्रचण्डलाई अझै कति अध्यक्ष चाहिएको हो ?’
प्रचण्डको रबैयाकै कारण पार्टीप्रति निष्ठावान विप्लव, बैद्य, बाबुरामहरु बाहिरिएको भन्दै अवको केही समयमै उहाँ एक्लै हुने ठोकुवा गर्नुभयो । उहाँले पार्टी प्यालेसमा गएर अध्यक्षको टीका लगाउने माधव नेपालले विधि र प्रक्रियाको कुरा गर्न नसुहाउने बताउनु भयो । ‘प्रचण्डहरुले अराजतातर्फ धकेल्न लागेको मुलुकलाई प्रधानमन्त्री ओलीले अग्रगामी निर्णय गरेर जनतालाई सुम्पिनु भएको छ । प्रधानमन्त्रीको कदम अग्रगामी हो,’ रायमाझीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्