जनता टाइम्स

१४ माघ २०७७, बुधबार १८:४८

नेता–कार्यकर्ताले धमाधम छाडन थाले प्रचण्ड–माधव गुट, बामदेवतिर लागिन आश्रितपत्नी माया ज्ञवाली


काठमाडौं, माघ १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिधानबिपरित ‘कू’ गर्न नसकेपछि पार्टी बिभाजन गरी अलग समुह गठन गर्नुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई दिनदिनै नेता कार्यकर्ताले छाडने क्रम ह्वात्तै बढेर गएको छ ।

भारतको आशिर्वादमा बिघटित प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्दै झुक्याएर नेता–कार्यकर्ता आफूतिर तानेपनि जनताको साथ नभएको तथ्य बाहिर आएपछि नेता–कार्यकर्ता सो समुह छाडेर ओली नेतृत्वको नेकपातिर आकर्षित भएका हुन भने कतिपय नेता कार्यकर्ता उपाध्यक्ष बामदेव गौतमको तेस्रो समुहमा जान थालेका छन । नेकपा एकता गर्दा बिरुद्धमा खडा भएका, जिम्मेवारी नपाएका र बिगतमा पार्टी सत्ताको दुरुपयोग गरी कुस्त कमाउन नपाएका कुण्ठाधारी समुहलाई प्रचण्ड र माधवले बिशेष स्थान दिन थालेपछि इमान्दारहरु पुरानै घरमा फर्कन थालेका हुन ।

यसरी मुलघरमै फर्कनेमा पूर्वएमालेका इमान्दार नेता कार्यकर्ता मात्रै छैनन, जनयुद्धमा ज्यानको बाजी थापेका तर प्रचण्डको परिवारका सदस्य र नाता नपरेका पूर्वलडाकू समेत छन । पछिल्लो समय उपाध्यक्ष बामदेव गौतमले निर्माण गर्नुभएको तेस्रो धारमा पनि प्रचण्ड र माधव समुहका प्रभावशाली नेता कार्यकर्ता लागेका छन । जननेता मदन भण्डारीसँगै दासढुंगा दुर्घटनामा ज्यान गुमाउनु भएका नेकपा एमालेका तात्कालिन संगठन बिभाग प्रमुख जीवराज आश्रितकी पत्नी माया ज्ञवालीले पनि प्रचण्ड–माधव समुह छाडनु भएको छ ।

ज्ञवालीले प्रचण्ड र माधवबाट मुलुक र जनताको हित हुनै नसक्ने निश्कर्षसहित सो समुह छाडनु भएको हो । उहाँ उपाध्यक्ष गौतमले आजबाट सुरु गर्नुभएको पार्टी एकता अभियानमा साथ दिनुभएको छ । यसैगरी बामदेवको अभियानमा प्रचण्ड–माधव समुहतिर लागिसकेका सवैजसो जिल्लाका प्रभावशाली नेता–कार्यकर्ताले साथ दिएका छन ।

‘पार्टी फुटाउन मुख्य भुमिका खेल्ने नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईहरु त प्रचण्ड र माधवबाट यति चाँडै प्रताडित हुन थाले भने अरुको के हालत होला ? अव जनताको साथ पाइदैन भन्ने निश्कर्षमा सवै पुगेका छन, त्यसैले प्रचण्ड र माधव कमरेडले थाम्न सक्नुहुन्न, लोभीपापी र भ्रष्टाचारीबाहेक त्यता कोही रहने अवस्था देखिएन,’ जनताटाइम्सको जिज्ञासामा आश्रितपत्नी ज्ञवालीसँगै प्रचण्ड माधव समुह छाडेर बामदेवको अभियानमा साथ दिन आएका आधा दर्जन कार्यकर्ताको भनाई थियो । उनीहरुका अनुसार सो समुहमा अन्तिमसम्म प्रचण्डका आफन्त र माधवले पार्टी सत्ता सम्हाल्दा क्रेन जसरी तानेर हालीमुहाली गराएका र अकुत कमाएकाहरु मात्रै रहने देखिएको छ ।

त्यसो त प्रेस संगठन फुटाउन आयोजना गरिएको राष्ट्रिय भेलामा गएर भाषण नै ठोकेका बागमति इञ्चार्ज बिश्वमणि सुवेदी समेत सो समुहमा टिक्न नसक्ने देखेर बामदेवकै साथमा उभिनुभएको छ । सुरुमा सहसंयोजकको लोभ देखाएर भेलामा सहभागी गराए पनि अन्तिममा पूर्वप्रेस चौतारीकै चार जनाबीच भिडाएपछि होसमा आउनु भएका सुवेदी आज बामदेवको कार्यक्रममा सहभागी भई हर्ताकर्ताकै रुपमा देखिनुभएको थियो ।

नेकपा बिभाजन गर्न प्रचण्ड र माधवको निर्णायक भुमिका रहेको र प्रचण्ड माधवले अनैतिक काम गरेकै कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेको तथ्य गौतमले राख्दा सवैभन्दा पहिला ताली ठोक्ने पनि सुवेदीसहित टीम थियो । यसरी अव केही दिनभित्र प्रचण्ड–माधव समुहको हरेक जिल्लाबाट इमान्दार नेता कार्यकर्ता जति ओली नेतृत्वको मुलधार र बामदेव नेतृत्वको अभियानमा सहभागी हुने देखिएको छ ।

चुनाव हुँदा प्रचण्ड र माधव समुहको पत्तासाफ हुने तथ्य अहिले नै देखिएको भन्दै जनतामाझ लोकिप्रय नेताहरु धमाधम फर्कन थाल्नुभएको हो । ‘चुनाव हुने बेलासम्म कोही रहन्नन, त्यसैले प्रचण्ड–माधव संसद पुनःस्थापना भन्दै अदालतलाई धम्क्याउन माइतिघरतिर सडकमा पलेटी कस्नुभएको छ,’ फर्कनेमध्येका अर्का नेताले भने ।