जनता टाइम्स

१६ माघ २०७७, शुक्रबार १४:४१

निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न नसक्ने शिक्षामन्त्री श्रेष्ठको ठोकुवा


काठमाडौं, माघ १६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभएको छ । काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो भनाई सार्वजनिक गर्नुभएको हो ।

‘सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ–गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकीर गर्दै अब मुलुक चुनावमय भैसकेको उहाँको धारणा थियो । उहाँले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दापनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउँदै अधिकांस आयोजना यही सरकारले पुरा गरेको बताउनुभयो ।

तपाईहरु हेर्नुस रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठुला अन्तराष्ट्रिय विमानस्थल तयार भए ,पाइपलाइनबाट तेल आउन थालिसक्यो, रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ , ठाउँ–ठाउँमा सुरुङमार्ग निर्माण भैरहेका छन् भन्नुस त यो काम कस्ले गर्यो ? सबै यही सरकारको प्रगति हो ।

उहाँले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहोर्याउनुभयो । उहाँले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गर्दै उहाँले थप्नुभयो,‘मैले गरेको विकास मेरो पार्टीको लागि मात्रै होइन, सबै जनता सबै पार्टी र मेरो निर्वाचन क्षेत्रको लागि हो ।’

उहाँले करिब साढे २ वर्षको अवधिमा आफूले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगालगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराउनुभयो । काठमाडौं निर्वाचन क्षेत्र–९का संघीय सांसद श्रेष्ठले भन्नुभयो,‘मेरो निर्वाचन क्षेत्रमा सर्वमान्य नेता गणेशमान, मदन भण्डारीको नाममा पार्क निर्माण भैसकेका छन्, जापान सरकारको सहयोगमा ५० वटा साकुराको बिरुवा ल्याएर खाइके–साकुरा पार्क निर्माण भैसकेको छ, किर्तिपुर–नैकाप जोड्ने पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।’

‘हरेक स्थानमा बाटो पुगेको छ । दहचोकमा कालुपाण्डेको समाधीस्थलमा पार्क निर्माण भैसकेको छ । मेरो क्षेत्रको जनताको सहयोगमा सबै विकास निर्माणको काम सम्पन्न भएको हो’ उहाँले भन्नुभयो ।
उहाँले केही महिनाभित्र भीमढुंगा र रामकोट जोडिने झोलुङगे पुल निर्माण अघि बढेको पनि कार्यक्रममा जानकारी गराउनुभयो । मन्त्री श्रेष्ठले स्थानीय जनताको घरको धारा खोलेर खानेपानीको शुरुवात गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठले स्थानीयवासीको माग अनुसार खानेपानी परियोजना सञ्चालन हुँदा आफुलाई खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो खानेपानीको धारा सबैको लागि हुन्छ, अर्किड कोलोनीका जनताले समेत उपभोग गर्न पाउँनेछन ।’ कार्यक्रममा सांसद शाक्यले यो कुनै दलले मात्र नभएर सबैको सहयोगको कारण खानेपानी परियोजना सफल भएको र यसमा सबै जनताको साथ र सहयोग रहेको सुनाउनुभयो । उहाँले बैंकमा जम्मा भएका योजना मार्फत थप योजना तय गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।