जनता टाइम्स

२० माघ २०७७, मंगलवार १४:०१

बेहोसीमा राष्ट्रपतिबिरुद्ध बोल्दा उठनै नसक्ने गरी पछारिइन रामकुमारी झाँक्री, उठाइयो यति गम्भीर प्रश्न


काठमाडौं, माघ २०

राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आपत्तिजनक र गैरजिम्मेवार टिप्पणी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की युवा नेतृ रामकुमारी झाँक्रीमाथि महिला नेतृहरु नै खनिएका छन । झाँक्रीले होस गुमाएर राष्ट्रपति भण्डारीबिरुद्ध अभिब्यक्ति दिनुका साथै महिला हिंसा गरेको भन्दै नागरिक समाजदेखि महिला नेतृहरु खनिएका हुन ।

गोरखाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीबिरुद्ध निकै आपत्तिजनक र समाजले पचाउनै नसक्ने अभिब्यक्ति दिनुभएको थियो । एकल महिलासमेत रहनुभएकी राष्ट्रपति भण्डारीप्रति महिला हिंसा हुने खालको अभिव्यक्ति दिएपछि नेतृ झाँक्रीबिरुद्ध सामाजिक सञ्जालमा चर्काे आवाज उठेको छ ।

नेकपाकै युवा नृतेदेखि सामाजिक अभियन्तासम्मले झाँक्रीको सो अभिब्यक्ति खेदजनक रहेको भन्दै कडा आपत्ति जनाएका छन । मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संयोजक तथा मानवअधिकारकर्मी लिली थापाले झाँक्रीमाथि कडा प्रहार गर्दै एकल महिलाको क्षमता नदाँज्न चेतावनी दिनुभएको छ ।

‘सेतो सारी लगाउने एकल महिला कत्ति शक्तिशाली र सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्छन भन्ने कुरा मनन गर्न म ती युवा नेता जसले राजनीति प्रतिशोधको कारण एउटा राष्ट्रप्रमुखमाथि आरोप प्रत्यारोप गरिरहेकी छिन्, उहाँलाई एउटा एकल महिलाको घरमा उनको दिनचर्यालाई नजिकबाट हेर्न अनुरोध गर्दछु,’ थापाले भन्नुभएको छ, ‘स्वतन्त्रताको परिभाषाभित्र व्यक्तिगत चरित्रहत्या तथा आक्षेप स्वीकार हुँदैन भन्ने कुरा यहाँलाई त्यतिपनि थाहा छैन होला जस्तो लागेको थिएन ।’

झाँक्रीको पागल अभिब्यत्तिःप्रति खनिदै थापाकै जस्तो अभिब्यक्ति अहिलेसम्म सामाजिक सञ्जालमा एक लाख भन्दा बढीले गरिसकेका छन । एकल महिलालाई रातो सारी अभियानको नेतृत्व गर्दै आएकी थापाले स्वतन्त्रताको नाममा झाँक्रीले छुद्र टिप्पणी गरेकोसमेत बताउनुभएको छ । ‘राष्ट्रप्रमुख जस्तो व्यक्तिलाई त एकल महिला भएकै कारण पटक-पटक यस्ता आक्षेप लाग्छन भने अन्य साधारण एकल महिलाको कस्तो अवस्था होला अनुमान गरौं,’ थापाको भनाई छ ।

वरिष्ठ पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले पनि झाँक्रीको अभिव्यक्ति राजनीतिक संस्कारविपरित भएको भन्दै संस्कारयुक्त बनेर चरित्रहत्या नगर्न चेतावनी दिनुभएको छ । ‘अहिले सामाजिक सञ्जालमा दुई कुराको चर्चा छ– श्री ५ को सरकार र बडामहारानी, श्री ५ झुक्किएर बोलिएको हो र बडामहारानी नियतबस, उहाँ (झाँक्री) नै हो त ? भनेर धेरै पटक दोहोर्याएर हेरे, सेतो सारीदेखि कोटेश्वर, चाबहिल, वानेश्वर हुँदै बालकोटसम्मका शब्द बोल्ने मान्छेको राजनीतिक संस्कार देखिएन,’ बस्नेतले टिप्पणी गर्नुभएको छ ।

पत्रकार बस्नेतले झाँक्रीको राजनीतिक संस्कार देखाउनु पर्ने भन्दै सचेतसमेत गराउनु भएको छ ।
मानवअधिकारकर्मी मोहना अन्सारीले पनि झाँक्रीको नाम उल्लेख नगरी राष्ट्रपति भण्डारीप्रति गरिएको टिप्पणीको कडा आलोचना गर्नुभएको छ । ‘महिलाको चरित्रहत्या गरी राजनीति गर्ने कुनै पनि न महिला न पुरुष मेरो लागि प्रिय हुन सक्दैन, यस्ता व्यक्ति समाजका लागि विषालु र घातक हुन्छन,’ अन्सारीले भन्नुभएको छ ।

साहित्कार सीमा आभाषले पनि झाँक्रीको अभिव्यक्तिप्रति आक्रोश पोख्दै चेतनास्तरमाथि प्रश्न उठाउनु भएको छ । ‘यद्यपि हामी रातो सारी र सेतो सारीमा अल्झिएर बोल्छौँ, एउटी महिला आफ्नो बलबुताले उभिन सक्छे भन्ने कुरा नकार्दै तथानाम भन्छौं, हामी कहिले यो निकृष्ट चेतनाबाटमाथि उभिनु ! पद, प्रतिष्ठा, सर्टिफिकेटले व्यक्तिको चेतनालाई नउकास्दो रहेछ,’ आभाषले भन्नुभएको छ ।
झाँक्रीको अभिब्यक्तिलाई लिएर स्थानीय तहमा निर्वाचित अधिकांश महिला नेतृहरुले पनि कडा आपत्ति जनाउनु भएको छ । युवा संघकी नेतृ अञ्जना अधिकारीले त झाँक्रीले माफी नमागे सम्पुर्ण महिलाहरु मैदानमा उत्रने चेतावनी दिनुभएको छ । यस्तै महिला अधिकारकर्मी जस्मिन ओझाले पनि राष्ट्रपति भण्डारीप्रति झाँक्रीले गरेको टिप्पणीको कडा प्रतिवाद गर्नुभएको छ ।

‘म एउटा नारीवादी चिन्तन राख्ने नारी भएको कारणले गर्दा एउटा नारीले किन अर्को नारीको विरोध गर्नु ? हामी हातमा हात मिलाएर अघि बढ्नुपर्छ भन्ने मान्यता राखेको थिए, तर, आज दुःखको साथ भन्नु परेको छ रामकुमारी झाँक्रीजस्ता महिलाको कारणले गर्दा समाजमा महिलामुक्ति आन्दोलन सफल नभएको हो र महिलाहरू दिनदिनै अपहेलित भएका हुन,’ ओझाको भनाई छ । झाँक्रीको अभिव्यक्ति गैरजिम्मेवार र अनैतिक भएको भन्दै ओझाले माफीसमेत माग्नु पर्ने बताउनु भएको छ ।

यस्तै युवा नेतृ मिना श्रेष्ठले पनि एकल महिलासमेत रहेकी राष्ट्रपति भण्डारीप्रति झाँक्रीले गरेको टिप्पणीको कडा बिरोध गर्नुभएको छ । ‘महामहिम राष्ट्रपतिप्रति गरिएका प्रहारमध्ये यो तुच्छ प्रहारले सारा एकल महिलाको स्वाभिमानमा प्रहार भएको छ, यस्ता घिनलाग्दो लान्छना व्यक्त हुन्छ भने एकल महिलाले बाँच्ने धर्ती आकाश खोइ ? सारै मन रोयो, यही हो त हाम्रो राजनीतिक संस्कार ? हामीले यस्तै प्रशिक्षण प्राप्त गरेका हौं र ?’ श्रेष्ठको प्रश्न छ । समाजका ‘रामकुमारी झाँक्री प्रवृति’ का कारण निरन्तर महिलाहरु अपमान हुनु परेको आरोपसमेत उहाँको छ ।

यस्तै विद्यार्थी नेतृ सुनिता बरालले पनि झाँक्रीलाई सवक सिकाउने घोषणा गर्नुभएको छ । अहिले उदण्डता नै आफ्नो पहिचान बनाएको भन्दै अव मुख नसमाले परिणाम निकै भयानक भोग्नुपर्ने बरालको चुतावनी छ । यस्तै बिद्यार्थी नेतृ एलिजा ढकालले पनि झाँक्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको छ ।

‘राष्ट्रपतिमाथि उठ्ने गरेका राजनीतिक प्रश्नहरू जायज छन्, राजनीतिक मान्छेले सहनु पनि पर्छ, तर उहाँको चरित्रमाथि उठ्ने गरेका प्रश्नहरुमा जोडिएका सामाजिक प्रश्नहरु कदापि क्षम्य छैनन्, आर्थिक रुपमा महिला सबल नभएको समय, सन्तान र सेतो सारी सामाजिक रूपमा उहाँको जीवन त्यति सजिलो थिएन,’ ढकालको भनाई छ ।

राष्ट्रपति भण्डारीमाथि गरिएको टिप्पणीलाई धेरैले महिलाले महिलामाथि गरेको हिसांको रुपमा किटानी गरेका छन । गोर्खामा झाँक्रीले बोलेको भिडियो बाहिर आएपछि अहिलेसम्म सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा कडा प्रतिवाद भएको छ । अखिलमा रहँदा नेतृ झाँक्रीले प्रदर्शन गरेको उदण्डतादेखि जनआन्दोलनमा आफ्नै सहयोद्धाले पुलिससँग मिलेर सुराकी गरेको कारण टाउकोमा ढुंगा हानी घाइते बनाएको तथ्यसमेत बाहिर ल्याइ दिउँ भन्दै सामाजिक सञ्जालमा झाँक्रीलाई चेतावनी दिइएको छ । कतिपयले झाँक्रीकै चरित्रमाथिसमेत आपत्तिजनक प्रश्न उठाएका छन ।