काठमाडौं, माघ २३ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैबाट तलमाथि हुने नदिने घोषणा गर्नुभएको छ ।
इतिहासमै सवैभन्दा बढी जनता उतारेर काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजित बिसाल जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्रलाई तलमाथि गर्छु भन्ने सोच कसैले नराख्दा हुने घोषणा गर्नुभयो । संबिधानको दृढतापुर्वक कार्यान्वयन गर्दै ताजा जनादेशमार्फत मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउने आफ्नो योजना सुनाउँदै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपा नै नेपालको मुल पार्टी रहेको ठोकुवा गर्नुभयो ।
‘‘आज बिहानसम्म पनि भन्दै थिए, ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे । लोकतन्त्रका लागि आधा दशकभन्दा बढि समय प्रजतन्त्रका लागि जुन केपी ओली लड्यो, उसैले राजतन्त्र फर्केको घोषणा गर्छ रे । यो संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न सक्दैन । कार्यान्वयन गरेर अगाडि जान्छ । यो प्रणालीले विकासमा वाधा दिएको छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाई हामीले लडेर ल्याएको हो गणतन्त्र, अव संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न सक्दैन, तलमाथि पार्न दिइन्न ।’
आफूले आधा शताब्दी राजतन्त्र विरुद्ध लडेको भन्दै प्रधानमन्त्री ओलीले आफूबाट राजतन्त्र पुनस्र्थापना असम्भव भएको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अव देश चुनावतर्फ गएको पनि बताउनु भयो । ‘अव देश चुनावतर्फ गयो–गयो, अव चुनावले नै सवै कुराको फैसला गर्छ ।’
सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितो नक्सा प्रकाशन गरेपछि नै जसरी पनि सरकार र पार्टीबाट हटाउने षडयन्त्र सुरु भएको तथ्य खोल्नुभयो ।
अव पनि कुन पार्टी मुल पार्टी ? कुन पार्टी खास पार्टी ? कुन पार्टी सक्कली ? कुन पार्टी नक्कली भन्ने प्रश्न बाँकी रह्यो र ? इतिहासमै सवैभन्दा बढी उपस्थितिको यो जनसभाले फैसला गरेन र ? फैसला गर्यो, कुन पार्टी मुल पार्टी हो भन्ने टुंगो लाग्यो

‘अघिल्लो पटक चीनसँग संझौता गरेपछि मलाई हटाइयो, यो पटक पनि नक्सा छापेपछि मलाई नहटाइ नहुने अठोट गर्नुभयो,’ आफ्नै पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेपालबिरोधी हर्कत सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रचण्ड र माधवले नक्सा प्रकाशन गर्नै नदिन ओलीलाई हटाउने अभियान सुरु गरेको तथ्य प्रधानमन्त्री ओलीले सभामा खोल्नुभएको हो ।
प्रधानमन्त्री ओलीले जनसभामा उपस्थितिले नेपालकै मुल पार्टी कुन हो भन्ने स्पष्ट जवाफ मिलेको घोषणा पनि गर्नुभयो । ‘अव पनि कुन पार्टी मुल पार्टी ? कुन पार्टी खास पार्टी ? कुन पार्टी सक्कली ? कुन पार्टी नक्कली भन्ने प्रश्न बाँकी रह्यो र ? इतिहासमै सवैभन्दा बढी उपस्थितिको यो जनसभाले फैसला गरेन र ? फैसला गर्यो, कुन पार्टी मुल पार्टी हो भन्ने टुंगो लाग्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो पार्टी नै कम्युनिष्ट आन्दोलनको मुल पार्टी हो, कम्युनिष्ट आन्दोलनको मात्रै होइन, देशको मुल पार्टी हो, प्रमुख पार्टी हो, सवैभन्दा ठूलो पार्टी हो ।’ उहाँले देश बनाउने पार्टी पनि आफू नेतृत्वको पार्टी नै रहेको घोषणा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले तीन बर्षसम्म प्रचण्ड र माधवले जनताको हितमा हुने काम गर्न अवरोध गरिरहेको र उनीहरु बाहिरिएपछि धमाधम काम अघि बढेको बताउनु भयो ।

‘तीन बर्षसम्म आयोगहरु बनेनन, अहिले दुई चार जना मान्छेहरु पार्टी छोडेर गएपछि आयोगहरु बने । ती मान्छे रहेसम्म हामीले आयोगहरु गठन गर्न सकेनौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँहरुलाई आयोग बनेकोमा कत्रो पिर ? आयोग बनेको भोलिपल्ट नेपाल बन्द । महिला, दलित, जनजाती, मधेसीको समस्या उठाउनै नहुने ? कत्रो पिर ? उनीहरुको हितमा काम गर्नै नहुने, कत्रो पिर ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उनीहरुका षडयन्त्रहरुलाई चिरेर हामीले आयोग बनायौं ।’ प्रधानमन्त्री ओलीले अव मुलुक चुनावतर्फ गएको र सवै कुराको फैसला जनताले गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्