जनता टाइम्स

२८ माघ २०७७, बुधबार १२:०७

निर्वाचनका लागि ९ लाख १७ हजार मतदाता थपिए


काठमाडौं, माघ २८

बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ९ लाख बढी मतदाता थप भएका छन् । निर्वाचन आयोगले यसपटक १ करोड ६४ लाख मतदाताको नाम संकलन भएको जानकारी दिएको छ ।

२०७८ वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेर नाम दर्ता गराउने मतदाताको संख्या एक करोड ६३ लाख ४५ हजार २२ जना रहेको आयोगले जानकारी दिएको छ । यसअघि २०७४ सालमा भएको निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ रहेको थियो । यो तीन वर्षमा ९ लाख १७ हजार २ सय ९१ मतदाता थप भएका हुन् ।

निर्वाचनको मिति घोषणा गरेको दिनपछि १८ वर्ष पुगेका वा उमेर पुगेर पनि नाम नलेखाएकाहरूलाई मतदाता नामावलीमा समावेश गरिने छैन । सरकारले निर्वाचन आयोगलाई दिएको जानकारीअनुसार पहिलो चरण अन्तर्गत वैशाख १७ गते प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्‍चिम प्रदेशका ४० जिल्लामा निर्वाचन गरिने छ । दोस्रो चरणमा प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशका ३७ जिल्लामा निर्वाचन हुनेछ ।