जनता टाइम्स

२९ माघ २०७७, बिहीबार १७:४७

चरित्रमाथीको धावाले कानुनी झमेलामा फसिन् रामकुमारी


काठमाडौं, माघ २९

राष्ट्रपतिको कुरा त के गर्नु । बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि कार गेट छाडेर, सुख सुविधा, ऐस आराम, शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुस् । चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुनेको थिएँ । हैन भने बालकोटै गए पनि हुन्छ

…नेकपा एमालेले २०५० सालमा गरेको भुल थियो। यहाँ अन्यथा नहोस् । तमाम दिदीबहिनी हुनुहुन्छ, शहीद परिवार हुनुहुन्छ । यहाँहरूलाई भन्न खोजेको होइन । मदन भण्डारीको हत्या पछाडि सेतो साडी लाएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो, नेकपा एमालेले । त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी । यो भनाई हो, नेकपाकी नेतृ तथा प्रतिनिधिसभामा समानुपातिकतर्फकी पूर्व सांसद रामकुमारी झाँक्रीको ।

माथीका यी दुई हरफहरु पढ्दा विरोधीलाई चित्त बुझ्ने र त्यसको विपरित खेमालाई रिस उठ्ने पक्कै हुन्छ । यी भनाईको सिधा रुपमा अर्थ हेर्ने हो भनेपनि सामान्य राजनीति बुझेको मान्छेले पनि के गल्ती भयो भन्ने प्रष्टसँग अर्थ लगाउन सक्छ । यहा बालकोटको विषय उठाइएको छ जुन निक्कै नै गलत र चरित्रमाथी सिधा प्रश्न उठाइदैछ ।

विधुवा महिला अर्थात श्रीमान् गुमाएको महिला नेपालको राष्ट्रपति पदमा आसन हुनुहुन्छ । राजनीतिक रुपमा यो पदको मज्जाले विरोध गर्न पाइन्छ । तर, चरित्रको प्रश्न सर्वसाधारण मानिसको विषयमा पनि उठाउन पाइदैन । कसरी चरित्रको प्रश्न उठ्यो भन्ने विषय यहाँ आउन सक्छ ? त्यसैले एकैछिन माथी नेतृ झाँक्रीले बोलेका ठाँउका विषयमा उल्लेख गरौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बसाई भक्तपुरको बालकोटमा रहेको छ । उहा लामो समयदेखी त्यहा बस्दै आउनु भएको प्रष्ट छ । नेकपाकै नेता भएकाले झाँक्रीलाई यो विषय थाहा नहुने कुरै आउँदैन । उहालाई राष्ट्रपतिको घर वा डेरा कहाँ हो भन्ने विषयमा अलिक कन्फ्युज भए जस्तो देखिन्छ । तर पनि उहाले बानेश्वर कि चावहिल कता भन्दै दोधार देखाउन खोज्नु भएको छ । त्यत्ति भनि नसक्दै उहाले सिधै बालकोट गएपनि हुन्छ भनेर किटानीका साथ भन्नु भएको छ । नेतृ झाँक्रीले एक विधुवा महिलालाई तोकेर बालकोट गएपनि हुन्छ भनेर सिधै चरित्रमा प्रश्न उठाउनु खोज्नु भएको छ । जुन सजिलै बुझ्न सकिन्छ ।

केही महिना पहिला एक भारतीय टेलिभिजन च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूतका विषयमा जोडर बनाएको काल्पनिक कथाजस्तै झाँक्रीको अभिव्यक्ति थियो यो । गुटका हिसाबले एकअर्कामा हिलो फालाफाल गर्नु जायज कुरा हो । तर, कुन कुरामा कति हदसम्म जाने भन्ने प्रश्न आउँछ । त्यसले मानिसको दिमागी हालतको पनि बयान गर्छ ।

राजनीति भनेको सिद्धान्त र विचारमा चल्ने हो । कसैको चरित्रमाथी धावा बोलेर चल्ने होइन् । त्यहि माथी एक महिलाले अर्को महिलामाथी उठाएको यति गम्भिर विषयमा समाजले एक पटक सोच्नै पर्छ । किनकी देशमा नारी धेरै छन् । आज विद्या भण्डारीलाई पर्यो होला तर, त्यो पदमा भोली अरु पनि महिला पुग्न सक्छन् । वा जोसुकै महिलामाथी रिस उठ्यो भन्दैमा चरित्रमा धावा बोल्न पाइन्छ भन्नु समाजका लागि कति घातक वा फाइदाजनक हुन्छ । त्यो त आम नागरिकले सोच्न सक्नुपर्छ ।

प्रहरीले उनलाई यही विषयमा सोधपुछ गर्न विहिवार बोलाएको हो । भनिन्छ नी न विराउनु नडराउनु । गल्ती गरेको छैन भने सडकमा किन तमासा देखाउनु । अड्डा छ अदालत छ, कानुनी निरुपण पक्कै हुन्छ । तर, चरित्रमाथीको प्रश्नलाई राजनीतिमा जोडेर हेर्ने प्रयास गरिएमा यो सबै महिलाका लागि निक्कै घातक हुन्छ । किनकी राजनीति त यत्तिमै सकिदैन होला ? भोली पनि त राजनीति त बाँकी नै रहन्छ नि ?