जनता टाइम्स

३० माघ २०७७, शुक्रबार २०:२३

यताबाट होइन, प्रचण्ड–माधवलाई छाडेर स्थायी कमिटीका आधा दर्जन नेतासहित ठुलो संख्यामा साथीहरू यता आउँदैछन् : मन्त्री रायमाझी


काठमाडौं, माघ ३० । नेपाल सरकारका उर्जामन्त्री एवं नेकपा नेता टोपबहादुर रायमाझीले प्रचण्ड समूहले गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको बताउनुभयो ।

प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै मन्त्री रायमाझीले मूलधारबाट पूर्व माओवादीका दुई मन्त्री हामीतिरै आउँदै छन् भनेर प्रचण्डले कूप्रचार गरेको बताउनुभयो । मूलधारबाट जाने नभइ मूलधारतिर फर्कनेको संख्या बढेको उहाँले बताउनुभयो । उहाँले प्रचण्ड–माधवलाई छाडेर स्थायी कमिटीका आधा दर्जन नेतासहित ठुलो संख्यामा साथीहरू मुलधारको नेकपामा आउने तयारी भएको समेत बताउनुभयो ।

मन्त्री रायमाझीले भन्नुभयो – ‘यतिसम्म भ्रम छर्नुभयो कि लौ ओलीले बनाएका २ जना पूर्व माओवादीतर्फका मन्त्री आउँदै छन्, बरू म भन्छु कतिपय स्थायी कमिटीका साथीहरूसँग मेरो कुरा भएको छ उहाँह – मूलधारमा आउन खोज्दै हुनुहुन्छ, हेर्दै गर्नुस् पूर्व माओवादीको गड भएका ठाउँमा पनि पहिरो जान्छ ।’

पद र प्रतिष्ठामा लागि अन्धो भएको प्रचण्ड समूहका नेताको काम भ्रम छर्ने मात्र भएको उहाँले बताउनुभयो । मन्त्री रायमाझीले भन्नुभयो – ‘उहाँले विचार सिद्न्त सबै छोड्नुभयो, पद प्रतिष्ठा बाहेक केही देख्नुभएन ।’मन्त्री रायमाझीले प्रचण्ड समूहलाई चुनावप्रति विश्वास नरहेको बताउनुभयो । ‘ठगेर, ढाँटेर र अलिअलि ठोकठाक गरेर, ढुंगामुढा गरेर खाने बानी परेका हाम्रा साथीहरूलाई चुनावप्रति विश्वास छैन, त्यसैले उहाँहरू चुनावसँग डराउनु भएको छ ।’

देश चुनावमा होमिसकिएको भन्दै उहाँले प्रतिपक्षी कांग्रेस र मधेसवादी दल चुनावका लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘कांग्रेसका साथीहरू तयारीमा लागेका छन्, मैले एयरपोर्टमा १/२ जना कांग्रेसका साथी भेटेको थिएँ, सरकारको उहाँहरूले भन्नुभयो समर्थन गरे त ओलीको पार्टी भन्छन् नि देखाउन मात्र विरोध गरेका हौं ।’प्रतिनिधि सभा पुर्नस्थापना हुन्छ भनेर केही मिडिया र प्रचण्ड समूहले भ्रम छरेपनि पुर्नस्थापना नहुने उहाँले बताउनुभयो ।

पद–प्रतिष्ठाका लागि सडकमा गएर चिच्याएको प्रचण्ड समूहको जाने ठाउँ सकिएको उहाँले बताउनुभयो । ‘सडकमा गएर चिच्याउनु भएको छ कहीँ जाने बाटो छैन, उहाँहरू कि केपी ओलीलाई अध्यक्ष मानेर बस्न पर्‍यो, कि चोइटिएर जानुपर्‍यो, कि चुनाव बहिष्कार गर्नुपर्‍यो, कि मोहन वैद्यसँग एक हुन जानुपर्‍यो’उहाँले भन्नुभयो । केपी ओलीलाई समाप्त पार्न खोज्दा प्रचण्ड-माधव सडकमा पुग्नुभएको उहाँले भन्नुभयो – ‘विपक्षको काँधमा चढेर भरूवा थोत्रो बन्दुक लिएर केपी ओलीलाई सुट गर्न खोज्नुभएको थियो, तर त्यो निशाना उहाँहरूतिरै लाग्यो, आफै पल्टिनुभयो र सडकमा पुग्नुभयो, केपी ओलीले बुद्धि र विकेकको हतियारले उनीहरूको षड्यन्त्र असफल पार्नुभयो ।’