जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार १७:३६

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने विश्वास छैन, सूर्य चिन्ह हाम्रो हो भन्नेमा विवाद गर्नै पर्दैन : प्रधानमन्त्री ओली


काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संबिधानअनुसार फैसला गर्ने भएकोले बिघटित प्रतिनिधि सभा पुर्नस्थापना हुन्छ भन्ने विश्वास नरहेको प्रष्ट पार्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा पनि पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री बन्न भने नसक्ने ठोकुवा गर्दै प्रचण्ड र माधव हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुपर्ने बताउँनु भयो । ‘प्रतिनिधि सभा पुनःस्थापना हुन्छ भन्ने विश्वास छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, पुनःस्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा छैन ? भयो भने प्रचण्ड र माधव हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ, उहाँहरूको प्रधानमन्त्री बन्ने सम्भावना छैन, प्रधानमन्त्री खोज्दै हिँड्दा मै कहाँ आउँनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले पुनःस्थापना भए देश अस्थिरतातर्फ धकेलिने ठोकुवा पनि गर्नुभयो । ‘आफ्नो पार्टी हटाएर प्रधानमन्त्री खोज्न हिँड्ने र मुलुकलाई अस्थिरताको खेलतर्फ लैजान अदालतले दिन्छ भन्ने कुरा म कसरी विश्वास गरूँ ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संविधानत ६४ प्रतिशतले सरकार नचलाएका बेला ३६ प्रतिशतले सरकार नबन्ने भन्दै उहाँले पुनःस्थापना हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । तोकिएको समयमै चुनाव हुने भन्दै उहाँले सूर्य चिन्ह आफूहरूकै हो भन्नेमा विवाद गर्नैनपर्ने तथ्य पनि राख्नुभयो ।