जनता टाइम्स

२४ फाल्गुन २०७७, सोमबार १३:५६

प्रधानमन्त्री कुन पार्टीको भनेर सोध्नेलाई मैले भन्नु नपरोस् तपाई चाँही कुन पार्टीको भनेर ?


काठमाडौं, फागुन २४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कुन पार्टीको भनेर सोध्नेहरुलाई जवाफ फर्काउनु भएको छ । उहाले आफु कुन पार्टीको भनेर सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गर्नुभएको हो ।

महिला दिवसको अवसरमा महिला मन्त्रालयले प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा उहाले भन्नुभयो, ‘म हिजो बोलिनँ उहाँहरूले प्रधानमन्त्रीको कुन पार्टी हो ? भनेर सोध्नुभयो । मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको भनेर ।’

उहाले आफुलाई नेकपाको एक समुहले हटाएको विषय पनि उठाउनु भयो । ‘उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिनुभएछ । म कुन पार्टीको भनेर अदालतले भनिदियो, उहाँहरू अदालतको निर्णय पनि मान्नुहुन्न’, प्रधानमन्त्री ओलीले अगाडी भन्नुभयो, ‘प्रधानमन्त्री कुन पार्टीको हो, सर्वोच्च अदालतमा सोध्न जाऊ ।’ ​

प्रतिनिधिसभाको पहिलो बैठकमा भएका व्यवहारप्रति पनि उहाले असन्तुष्टि जनाउनु भयो । प्रतिनिधिसभा पुनःस्थापना भएपछि जनताका विषयमा छलफल होला भनेर सोचेको त पुनःस्थापनाको माग गर्नेहरु नै छाडेर हिडेको भन्दै आश्चर्य प्रकट गर्नुभयो । ‘यतिबेला देश चुनावमा गइसक्थ्यो । त्यसपछि राम्रो संसद बन्थ्यो । संसद् किन पुनःस्थापना गरेको भन्दा त लडाइँ गर्न कराउन पो गरेका रहेछन्’ उहाले भन्नुभयो, ‘उहाँहरू माननीयको कुर्सीमा बस्नुभएको छ । तर, बोल्ने भाषा सुन्यो भने माननीयको जस्तो हुदैन ।’

संसद् अवरोध गरेर एसिड आक्रमणविरुद्धको सरकारले पेश गर्न लागेको अध्यादेश रोकेकोमा समेच चर्को असन्तुष्टि पोख्नु भयो । उहाले सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौति समेत दिनुभयो ।