जनता टाइम्स

२५ फाल्गुन २०७७, मंगलवार १८:५५

अब औषधि बिक्रि गर्ने व्यक्तिले अनिवार्य रुपमा ‘एप्रोन’ लगाउनुपर्ने


काठमाडौं, फागुन २५

नेपाल फार्मेसी परिषद्ले औषधि बिक्रि वितरण गर्ने फर्मेसिष्टहरुलाई अनिवार्य रुपमा एप्रोन लगाउनुपर्ने निर्णय गरेको छ । सामुदायिक फार्मेसी वा अस्पतालको फार्मेसीमा औषधि वितणमा कार्यरत रहेका फार्मेसिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नाम लेखिएको सेतो एप्रोन लगाउनुपर्ने परिषदले जनाएको छ ।

परिषद्को मंगलबार बसेको बैठकले परिषद ऐनको दफा ९ को उपदफा (क) अनुसार निर्णय गरेको जनाउँदै एप्रोन लगाएर मात्रै औषधि वितरण गर्नुपर्ने निर्णय गरेको हो । बैठकले एक सूचना प्रकाशित गर्दै फार्मेसिष्ट/फार्मेसी सहायकले एप्रोन नलाई औषधि विक्रिवितरण गरे आचारसंहिता उल्लंघन गरेको मानिने जनाएको छ ।

परिषद्का अनुसार फार्मेसिष्टहरुले सेतो एप्रोनमा हरियो पृष्ठभूमीमा सेतो अक्षरमा नाम, पद र परिषदको दर्ता नम्बर अंकित एप्रोन प्रोयोग गर्नु पर्नेछ । फार्मेसी सहायकले भने सेतो एप्रोनमा निलो पृष्ठभूमीमा सेतो अक्षरमा नाम, पद र परिषद्को नम्बर अंकित एप्रोन प्रयोग गर्नुपर्ने परिषदद्वारा जारी सूचनामा उल्लेख छ ।