काठमाडौं, चैत्र १२
आउँदो आइतवार अर्थात चैत्र १५ गते काठमाडौ उपत्यकाबासीलाई ऐतिहासिक दिन हुने भएको छ । हुन त यो दिन सदा झै हो, तर विशेष पनि यसकारण छ कि करिव दुई दशकपछि मेलम्चीको पानी पहिलो पटक काठमाडौंबासीका घरका धारामा आउँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनदेखी चैत्र १५ गते धारामा मेलम्चीको पानी आउने जानकारी दिदै आउनु भएको छ । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौंमा आउने कार्यक्रमको उद्घाटन गर्नुहुने भएको छ । उहाले धाराको टुटी खोलेर उद्घाटन गर्ने जानकारी प्रधानमन्त्री ओलीले दिनुभयो ।
प्रधानमन्त्री ओलीले एउटा सपना पुरा हुन लागेको बताउनु भयो । ‘काठमाडौंमा मेलम्चीको पानी धारामा छोड्दैछौँ । अस्ति सुन्दरीजल खसाल्यौैँ । वाग्मती सफा ग¥यौँ’, उहाले भन्नुभयो । मेलम्चीको पानी खण्ड खण्ड गरेर छाडिनेछ । पुराना पाइप पनि रहेकाले चुहावट नहोस् र त्यही पाइपले बहाव खेपोस् भनेर खण्ड खण्डमा पानी छोडिन लागिएको हो ।
दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताउनु भयो । पानी लाइनबाट सिधै ७ मिटर अर्थात् अढाई तले घरसम्म वितरण गर्न सकिने उहाले जानकारी दिनुभयो । ‘पाइप बिछ्याउने काम र पोखरी (ठूला पानीट्यांकी) निर्माण गरिसकेका छौं, पानी पनि त्यसै किसिमले वितरण गर्छौं,’ उहाले भन्नुभयो ।
१० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको भन्दै आयोजनाले ती पोखरीको परीक्षण भइरहेको जनाएको छ । अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पानी वितरण गरिनेछ । आरुबारीमा ८ हजार ५ सय, बाँसबारीमा ९ हजार ५ सय, महांकालमा ८ हजार, खुमलटारमा ९ हजार ५ सय, बालाजुमा ७ हजार, भक्तपुरको टिगनीमा ३ हजार, महाराजगन्जमा ७ हजार ५ सय, कीर्तिपुरमा ६ हजार र धोबीघाटमा ८ हजार ५ सय घनमिटर क्षमताको पोखरी निर्माण भइसकेको उहाले बताउनु भयो । कटुन्जेमा ६ हजार घनमिटर क्षमताको पोखरी निर्माण भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्