काठमाडौं, चैत्र १९
प्रतिनिधिसभा पुनःस्थापितपछि लगत्तै सरकार बनाईहाल्ने गरी तयारी थालेका नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आरोपप्रत्यारोप शुरु भएको छ । एकले अर्कालाई सरकारका विषयमा कुनै निर्णय नै नगरेको भन्दै सार्वजनिक रुपमा आरोपप्रत्यारोपमा उत्रिएका हुन् ।
माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीले निर्णय नगरेका कारण सरकारका विषयमा आफुहरु निर्णयमा पुग्न नसकेको बताएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकले प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा०लाई सरकारलाई समर्थन गर्ने वा अविश्वासको प्रस्ताव राख्ने भन्ने निर्णय गर्न अपिल गरेको छ ।
कांग्रेस र जसपासँग अपिल गरेपनि माओवादी केन्द्र आफैले सरकारलाई दिएको समर्थन भने फिर्ता लिन सकेन । संसदमा चैत्र २३ गतेभित्र सरकारले विश्वासको मत लिनुपर्ने बताएको माओवादी केन्द्रले बैठकमा भने तत्काल फिर्ता नलिने निर्णय पनि गरेको छ । यही संसदलाई क्रियाशिल बनाउने चाहाना माओवादीको भएको भन्दै सर्मथन फिर्ताअघि सबै राजनीतिक पार्टीसँग छलफल गरिने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले गराउनु भयो ।
‘हामी यो संसदलाई पुरा अवधि क्रियाशिल बनाउन चाहान्छौं,’ उहाले भन्नुभयो, ‘यही कारणले मात्रै हामीले औपचारिक रुपमा सर्मथन फिर्ता छ भनेर लेखेर दिनुभन्दा अगाडि सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठीक आँकलन गर्ने काम गरिराखेका छौं ।’
यता, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने माओवादी र जसपाले निर्णय नगरेका कारण राजनीति अन्यौल बनेको बताउनु भएको छ प्रवक्ता शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएकोले नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुन नसकेको बताउनु भयो ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रुपमा एकढिक्का भएर उभिएमा मात्रै कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने उहाको भनाई छ । ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद् सचिवालयमार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन,’ उहाले भन्नुभयो, ‘संसद्मा सरकारलाई दिएको समर्थन उहाँहरुले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रुपमा यसको निर्णयमा पुग्नेछौं । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारको लागि ढोका खुल्ने अवस्था हुन्छ ।’













प्रतिक्रिया दिनुहोस्