जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार १५:११

राजधानीमा मेलम्चीको पानी वितरणको राष्ट्रपतिद्वारा औपचारिक उद्घाटन


काठमाडौं, चैत्र २०

ऐतिहासिक मेलम्ची खानेपानी आयोजनाको राजधानीमा औपचारिक रुपमा वितरण शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर समुद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी हुनुहुन्छ ।

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको छ । जुन पानी पिउन योग्य रहेको सरकारले बताएको छ । काठमाडौं उपत्यकाका सर्वसाधारणले भने आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको हो ।