जनता टाइम्स

५ बैशाख २०७८, आईतवार १३:५८

घनश्याम भुसालको आडमा औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा !


रुपन्देही, बैशाख ५

फागुनको २१ गते सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र उद्घाटनको अन्तिम तयारी भईरहेका बेला एउटा झुण्डले विरोध गर्यो । त्यसको स्थलगत नेतृत्व नगरेपनि मुल नेतृत्व भने एमालेका निलम्बित नेता घनश्याम भुसालले गर्नुभएको थियो ।

सरकारले स्थानीयसँग सहमति गरेर सो क्षेत्रको शिलान्यास गर्यो । शिलान्यासपछि स्थानीयसँग सम्झौता भएको हो । तर, अहिले पहिला भुषालको निर्देशनमा विरोध गर्ने समुह मै रहेका कतिपयहरु जग्गा आफुखुशी कब्जा गर्न पुगेको छ । आफुहरु सुकुम्बासी भएको भन्दै सरकारी जग्गामा बस्न पाउनुपर्ने माग सारेर कब्जा गर्न पुगेका हुन् । प्रहरीले उनिहरुलाई पटक पटक त्यहाबाट हटाएपनि आएर बस्न थालेपछि बल प्रयोग गरेर लखेटेको छ ।

आफूहरु सुकुम्बासी भएको र त्यहाँ बस्न पाउनुपर्ने भन्दै सयौंले औद्योगिक क्षेत्रको एक सय ११ बिगाहा जग्गा कब्जा गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरी हटाएको हो । बुटवलको नयाँगाउँ, बेलवास, गोलपार्क, बुद्धनगर, मजुवा, दिपनगर तिलोत्तमाको सिमानगर, डिंगरनगरलगायतका ठाउँबाट आएकाहरुले मोतिपुर औद्योगिक करिडोरको बी ब्लकको जग्गामा चुना र डोरीले घेरा हालेर प्लटिङसमेत गरिसकेका छन् ।

बुटवल उपमहानगपालिकाको वडा नं १७ का वडाध्यक्ष सन्तबहादुर रानाले जग्गा कब्जा गर्न केही राजनीतिक दल नै लागेको बताउनु भयो । दलको नाम बताउन नचाहे पनि उहाले औद्योगिक क्षेत्र विस्तारको विरोध गर्नेहरुले मान्छे खटाएको आरोप लगाउनु भयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले महत्वपूर्ण मोतिपुर औद्योगिक क्षेत्रको सबै मिलेर विस्तार गर्नुपर्ने बताउँदै सरकारी जग्गालाई कुनैपनि हालतमा कब्जा गर्न नदिइने बताउनु भयो । अहिले त्यहाँ आएका सबै व्यक्तिलाई तत्कालको लागि सम्झाइबुझाइ प्रहरीले फर्काउने गरेको बताउँदै उहाले यसका लागि सबै राजनीतिक दल तथा स्थानीयको सहयोग र समन्वय आवश्यक रहेको बताउनु भयो ।