काठमाडौं, बैशाख ७
नेकपा (माओवादी केन्द्र) अहिलेको राजनीतिक अस्थिरताको मुख्य कारक बनेको छ । न केपी शर्मा ओलीको सरकार ढाल्न नै सक्छ न त समर्थन दिईरहन सक्छ । जसले गर्दा मुलुक कुन दिशातर्फ जान्छ भनेर दुई महिनादेखी अन्यौलमा छ ।
कानुनी र प्राविधिक रुपमा एमालेका अध्यक्ष ओली नेतृत्वको सरकार ६४ प्रतिशत बहुमतमा चलिरहेको छ । तर, सरकारलाई समर्थन गरिरहेको स्वयम् माओवादी भने सरकारको सबैभन्दा ठुलो आलोचक बनेको छ । संयोग नै मान्नुपर्छ, त्यही माओवादीले समर्थन फिर्ता लिदा ढल्ने सरकार उसैका कारण अझै बहुमतमा छ ।
समर्थन फिर्ता लिने भन्दै पटक पटक बोलाइएको स्थायी कमिटी बैठकले आजका दिनसम्म निर्णय गर्न सकेको छैन । जसको मुख्य कारण हो, अर्लि निर्वाचन । राजनीतिक दलका रुपमा माओवादी निर्वाचन हुने भयले सरकारलाई दिएको समर्थन जति सुकै राजनीतिक ओज घटेपनि फिर्ता लिन सकेको छैन । माओवादी स्रोतका अनुसार अब हुने निर्वाचनमा हालको भन्दा कम सिट आउने आन्तरिक आंकलन गरेकाले यही शक्तिमा नयाँ सरकार बनाउने खेल खेलिरहेको छ ।
नयाँ सरकार गठन हुन माओवादीले एकसँग नभई तीन दलसँग समिकरण बनाउनुपर्ने हुन्छ । कांग्रेसको गनगनपछि सभापति शेरबहादुर देउवाले पार्टीभित्रै नयाँ सरकार बनाउने र नेतृत्व लिने निर्णय गरिदिए । तर, जसपामा देखिएको विवादले नयाँ सरकार अन्यौलमा छ । जसका कारण माओवादी समर्थन फिर्ता लिन नसक्ने अवस्थामा पुगेको छ । केही दिन अघि माओवादी अध्यक्ष प्रचण्डले बैशाख पहिलो साता कर्णालीमा जस्तैगरी नयाँ सरकार बन्ने बताएपनि त्यो त्यसै सेलाएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता हुने आश धेरैले गरेका थिए । तर, सरकार विषयको कार्यसूचिमा प्रवेश नै नगरी बैठक सकियो । बैठकको कार्यसूचीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने रहे पनि यसबारे निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।
सरकारलाई दिएको समर्थन कागजमा मात्र फिर्ता लिन बाँकी रहेको भन्दै श्रेष्ठले यसबारेमा बुधबारको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । ओलीलाई अपदस्थ गर्नका लागि परिस्थिति अनुकुल हुँदै गएको ब्रिफिङ प्रचण्डले जिकिर गर्नुभएको छ । उहाले माधव नेपालमाथिको कारवाहीलाई कानुनीरूपमा रोक्न सभामुखले गर्नसक्ने पहलबारे समेत छलफल भइरहेको बताएको एक नेताले जानकारी दिनुभयो । चुनाव घोषणा हुने तर चुनाव नहुने अवस्थामा देशलाई जान नदिन आफूहरू सुविचारित ढंगले अघि बढेको र कांग्रेस तथा जसपासँगको समझदारी अनुसार कदम चाल्ने श्रेष्ठको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्