जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १६:५१

सूर्य नेपालद्धारा कानुन उल्लंघन, ऐनबिपरित चुरोट कम्पनीबाट ५ करोड सहयोग लिँदै डा. कोइराला


काठमाडौं, बैशाख १०

सुर्य नेपाल प्राइभेट लिमिटेडले नेपालको कानुन मिचेर बलजफत कार्य गर्न लागेको खुलेको छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई सूर्य नेपालले सामाजिक उत्तरदायित्वको नाममा अस्पताल बनाउन ५ करोड रुपैयाँ सहयोग गर्न लागेको हो । डा. कोइरालाले सूर्य नेपालले संस्थागत उत्तरदायित्व अन्तर्रगत ५ करोड रुपैयाँ सहयोग स्वरुप लिन लागेको प्रतिक्रिया दिनुभयो ।

यो सूर्य नेपालले अस्पताल निर्माणका लागि ऐन विपरित ५ करोड रुपैयाँ दिन लागेको हो । आजै काठमाडौंको मेरियट होटलमा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यस्तै बुढानिलकण्ठमा बन्न लागेको ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ र सुर्य नेपाल कम्पनीबीच आज अपरान्ह मेरियट होटलमा हुने सहयोग आदानप्रदान सम्वन्धी सम्झौता कार्यक्रममा हुने किओचका तर्फबाट डा. कोइराला र चुरोट कम्पनीका तर्फबाट सूर्य नेपालका उपाध्यक्ष रबि केसीले हस्ताक्षर गर्ने बताइएको छ।

नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ अनुसार कुनै पनि स्वास्थ्य संस्था वा अन्य संस्थाले चुरोट कम्पनीबाट कुनै पनि आर्थिक सहयोग वा स्पोन्सर लिन पाइँदैन । यो सरासर कानून विपरित हो । सार्वजनिक रुपमा सुर्तीजन्य पदार्थ प्रयोगलाई नियन्त्रण गर्न बनाइएको नेपालको कानून कडाईका साथ लागू गर्नुपर्छ भन्दै आउनुभएको डा. कोइरालाले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ऐन २०६८ को दफा १० मा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजन गर्न नपाइने व्यवस्थालाई मिच्नुभएको हो ।

त्यसैलाई टेकेर बनाइएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ को १ ले सरकारी वा गैरसकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक संरचना ताथ अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउने छैन भनिएको छ ।

सोही धाराको उपदफा २ मा कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउने छैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन् भनिएको छ । उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीहरुले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगायतका कुनै पनि गतिविधि वा कार्यक्रममा सुर्ती उद्योगहरुको सहभागिता र सहकार्य गर्नु हुँदेन भनेर लेखिएको छ ।

मुटुरोग विशेषज्ञ डा. कोइरालाले चुरोट कम्पनीकै सहयोग लिन खोज्नु दुखद भएको विज्ञहरु बताउँछन् । यसैबीच सुर्तीजन्य पदार्थ नियन्त्रणमा क्रियाशिल छ वटा संस्थाले आज पत्रकार सम्मेलन गर्दै चुरोट कम्पनीबाट आर्थिक सहयोग लिएर बाल अस्पताल बनाउने डा. कोइरालाको योजना कानूनविपरित रहेको भन्दै आपत्ति जनाएका छन् । उक्त संस्थाहरुले डा. कोइराला स्वयं सुर्तीजन्य पदार्थ नियन्त्रणको अभियानमा पहिलेदेखि नै क्रियाशिल भएको व्यक्ति भएको भन्दै एक्कासी सुर्ती उद्योगको अफर स्वीकारेको सुन्दा आश्चर्य लागेको बताएका छन् ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानूनले बर्खिलाप गरेको र सारा नेपालीको आइडल भएको डा. कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालमा सुर्ती उद्योगको सहयोग लिनुपर्ने अवस्था आउनु दुर्भाग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कानूनको कार्यान्वयन गर्नका निम्ति उहाँले धेरै पहल गर्नुभएको थियो । हामीसँग पनि विगतमा थुप्रै पटक सहकार्य भयो, तर डा. सावले यस्तो गल्ती गर्नुहुन्छ भन्ने नै लागेको थिएन । तर अझै पनि समय छ, अवैध सहयोग नलिनुहोला ।’

प्राथमिक स्वास्थ्य शिक्षा स्रोत केन्द्र रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नुपर्छ भनेर सार्वजनिक फोरम र टेलिभिजनबाट सन्देश बाँडदै हिड्ने डा. कोइरालाबाट यस्तो कार्य हुन नहुने विचार व्यक्त गर्नुभयो । नेपाल विकास अनुसन्धान परिषदका कार्यकारी निर्देशक जयकुमार गुरुङले सुर्ती उद्योगहरुले आफ्नो प्रभाव जमाउन विभिन्न गतिविधिहरु गर्ने गरेको र बाल अस्पतालको नाममा सूर्य नेपालले सहयोग गर्ने भनिएको त्यसैको एउटा कडी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सुर्य नेपाल कम्पनी आफ्नो वर्चश्व कायम गर्न विभिन्न जालझेल गर्दै प्रलोभनमा पारेर सरकारको उच्च पदस्थ कर्मचारीलाई विदेशमा भ्रमण गराउने गतिविधिमा संलग्न हुँदै आएको छ। यसरी प्रलोभनमा पारेर नागरिकको स्वास्थ्यको खेलवाड गर्न पाईदैन । यस्ता उद्योगले आफ्नो बहकाउमा नियम, कानुन बनाउँदै आफ्नै उद्योग प्रोमोट गर्ने गरी ड्राफ्ट समेत आफै तयार गर्ने गरेको छ । ऐनमा व्यवस्था भएअनुसार सुर्तिजन्य पदार्थ कम्पनीले यो वा त्यो बहानामा चन्दा दिने, नहिचकिचाई आर्थिक सहयोग गर्ने काम गर्न पाइदैन ।’

कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र कडेरिया, नार्गार्जुन डेभलपमेन्ट कम्युनिटीक खेमराज जोशी, क्यान्सर सोसाइटी नेपालका अध्यक्ष रामनाथ मैनालीले सुर्य नेपालबाट डोनेशन लिन नियम र नैतिकता दुबै हिसावले नमिल्ने बताउनुभयो । नेपालमा हाल बार्षिक २७ हजार बढीको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । सोही मृत्युलाई नियन्त्रण गर्न सरकारले विसं २०६८ सालमा कानून निर्माण गरेको थियो ।

ऐन व्यवस्था भएअनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत भनेर कुनै पनि संस्थालाई आर्थिक, भौतिक, प्राविधिक वा संरचनागत कुनै पनि किसिमको सहयोग चुरोट उत्पादक कम्पनीले गर्न पाउने छैन । यसका साथै सुर्ती उद्योगबाट प्रदान गरिने छात्रवृत्ति, आर्थिक सहायता, पुरस्कार, प्रोत्साहन भत्ता कसैले पनि लिन पाउने छैन्। यसैगरी सार्वजनिक पदमा रहेका पदाधिकारीले सुर्ती उद्योगबाट प्रदान गरिने पुरस्कार, भत्ता समेत लिन नपाउने ऐनमा उल्लेख छ । साथै सार्वजनिक पदमा भएकाले सुर्ती उद्योगले आयोजना गरेको राष्ट्रिय र अन्तराष्ट्रिय गोष्ठीमा सहभागिता समेत जनाउन नपाउने ऐनमा उल्लेख छ ।