जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार ११:२२

कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था, यसरी लिन सकिन्छ सेवा


काठमाडौं, बैशाख १५ । काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुर्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले यस्तो निर्णय गरेको हो ।

“हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्याउने छन, बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने छौँ ।”

एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । महानगरपालिकाका अनुसार डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिले अस्पताल पुग्न र आउन सवारीको समस्या भोग्नु पर्दैन । आपत्कालीन अवस्थाका लागि महानगरपालिकाले टोल फ्री नं ११८० लाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी समुदाय स्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र (लेबल १) स्थापनाका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको छ । कोभिड नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई एक लाख रुपियाँ, मझौला वडालाई ७५ हजार रुपियाँ र साना वडालाई ५० हजार रुपैयाँसम्म निकासा पठाउने निर्णयसमेत गरेको छ ।